
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनमा लोडसेडिङको तालिका सार्वजनिक भएको विषय अनुचित र भ्रामक भएको भन्दै विज्ञप्ती जारी गरेको छ ।
प्राधिकरणले आइतबार एक विज्ञप्ती जारी गर्दै चनौली वितरण केन्द्रले आफ्नो आन्दरिक लोड व्यवस्थापनको विषयमा सूचना जारी गर्दा उक्त विषयलाई लोडसेडङ हुने भन्दै समाचार प्रकाशित हुनु अनुचित र भ्रामक रहेको बताउँदै बुधबारसम्म उक्त समस्या समाधान भइसक्ने बताएको छ ।
प्राधिकरणले चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा निकालेको लोड व्यवस्थापन तालिकाले श्रृजना गरेको अन्यौल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा व्यक्त धारणा प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको भन्दै चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सवस्टेशनमा न्यू भरतपुर ( बसेनी) सवस्टेशनबाट आउने ३३ के.भी. लाइनमा बढेको अत्याधिक लोडको कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको जनाएको छ ।
चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बर्सेनी १३२ के.भी. सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माण पश्चात यो समस्या दीर्घकालीन रुपमा समाधान हुने समेत प्राधिकरणले जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिंचाइ लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई “लोडसेडिङ्ग तालिका” शिर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको व्यहोरा स्पष्ट पार्न चाहान्छौं । प्रकाशित समाचारहरुको भित्री व्यहोराहरुमा नै प्राधिकरणकै जिम्मेवारी पदाधिकारीद्वारा यस अवस्थालाई लोडसेडिङ्ग भन्न नमिल्ने र बुधवारसम्ममा समस्या समाधान भइसक्ने कुरा उल्लेख भएता पनि यसको विपरित मुख्य शिर्षकमा लोडसेडिङ्ग उल्लेख हुनु आफैमा दुःखद् र कुनै पनि दृष्टीले न्यायोजित नभएको सञ्चार जगतसमक्ष निवेदन गर्दछौ ।’
