Nepal Purbadhar

जनकपुरमा २०० शय्याको क्यान्सर अस्पताल बन्दै, लगानी १ अर्ब ४५ करोड


काठमाडौं । मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिकामा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल निर्माण हुने भएको छ । 

उक्त अस्पताल विनयतारा क्यान्सर ट्रष्टले जनकपुरको कदमचौकमा निर्माण गर्न लागेको हो । ट्रष्टले वन तथा वातावरण मन्त्रालयमा आयोजना अघि बढाउनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश गरेको छ । 

यो अस्पताल ३ बिघा १३ कट्ठा ११.५ धुरमा निर्माण हुन लागेको हो । आयोजनाको भवनले कुल जमिनको १६ प्रतिशत जमीन ओगट्नेछ भने यसको अधिकतम ग्राउण्ड कभरेज भने १६.८९ प्रतिशत रहनेछ । आयोजनाको भवन भने ४ तल्लाको हुनेछ । 

आयोजनाको पार्किङ क्षेत्र २५ प्रतिशत रहनेछ, जसमध्ये ४ हजार वर्ग मिटर भूमिगत र ७ हजार वर्ग मिटर बाहिरि पार्किङ रहनेछ । यो पार्किङ क्षेत्रमा ९४ वटा चार पांग्रे, ४९ वटा दुई पांग्रे र १० वटा एम्बुलेन्स पार्क गर्न सकिनेछ । 

अस्पतालमा कार्डियोलोजी, गैस्ट्रोएन्टेरोलोजी, युरोलोजी, सामान्य शल्य चिकित्सा, जनरल मेडिसिन, फिजियोथेरापीलगायतका विभिन्न सेवाहरु उपलब्ध हुनेछन् भने विशिष्टकृत सेवाहरुमा मेडिकल ओन्कोलोजी, अन्कोलोजी सर्जरी, इन्टरनल मेडिसिन, रेडियोलोजी, हेमाटो प्याथोलोजीलगायतका सेवाहरु उपलब्ध हुनेछन् । 

आयोजनाको निर्माण काम सुरु भएको ३६ महिनाभित्र सम्पन्न हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । यो आयोजनाको कुल लागत भने १ अर्ब ४५ करोड ५२ लाख ८५ हजार ३६२ रुपैयाँ ८८ पैसा रहेको छ । 


Read Previous

मर्मतका लागि विद्युत आपूर्ति रोकिएको हो,लोडसेडिङ होइन्-हितेन्द्र देव शाक्य

Read Next

प्राधिकरणले भन्यो: चितवनमा लोडसेडिङ होइन, बुधबारसम्म समस्या समाधान हुन्छ

Nepal Purbadhar