
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्न थालेपछि निजी क्षेत्रले दु:ख व्यक्त गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले वर्खामा पनि लोडसेडिङ हुनु सबैका लागि दु:खद विषय भएको बताए । ‘केहि ठाउँमा लोडसेडिङ सुरु भएको सुनिएको छ । वर्खामा पनि लोडसेडिङ हुनु दु:खद छ । अब उत्पादन, वितरण र प्रसारणलाइनमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प छैन्,’ उनले भने, ‘सरकारले निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्नुको विकल्प छैन ।’
नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले सूचना जारी गर्दै आइतबारबाट दैनिक ६ घन्टासम्म लोडसेडिङ हुने बताएको छ ।
सार्वजनिक भएको सूचनाअनुसार पश्चित चितवन र माडी क्षेत्रमा बिहान ३ घन्टा र दिउँसो ३ घन्टा लोडसेडिङ हुनेछ । नारायणी-माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्म लोडसेडिङ हुनेछ । त्यस्तै, मेघौली-विजयनगर-शुक्रनगर फिडरमा बिहान ९ देखि १२ र साँझ ६ देखि ९ बजेसम्म विद्युत आपूर्ति बन्द हुने वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ । साथै, जगतपुर-रामपुर फिडरमा भने मध्याह्न १२ देखि ३ बजेसम्म र बेलुका ९ देखि १२ बजेसम्म लोडसेडिङ हुनेछ ।
चनौली वितरण केन्द्रले जारी गरेको सूचनाकाअनुसार केन्द्रमार्फत वितरित विद्युत लाइन भरतपुर १३२/३३ के.भि. सब स्टेशनबाट आउने ३३ के.भि. डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने अवस्था रहेको छ ।
क्षमताले नधान्ने भएकाले यसको समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत आपूर्ति गर्ने गरी अर्को ३३ के.भी. प्रसारण लाईन निर्माणको क्रममा रहेछ ।
यद्यपी अत्याधिक गर्मी र रोपाईको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकहरुको लोड बढ्न गई विद्युतको माग ४५० एम्पिएरसम्म पुगेका कारण केही दिनदेखि लोड व्यवस्थापनमा समस्या आइरहेकाले विद्युत आपूर्ति अवरुद्ध हुने केन्द्रले जनाएको छ ।
लोडसेडिङ कति समयका लागि हुने भन्नेबारे प्राधिकरणले केही खुलाएको छैन । केन्द्रले जारी गरेको सूचनामा भने लोड व्यवस्थापन हुँदै जाँदा समय अगावै लाईन सुचारू हुने उल्लेख गरिएको छ ।