Nepal Purbadhar

दुर्गा प्रसाईंले बिर्तामोडमा खोल्दै पाँच तारे होटल, लगानी कति?


काठमाडौं । झापाको विर्तामोडमा ५ तारे होटल खुल्ने भएको छ । 

होटल अट्रियम नामक पाँच तारे होटल विर्तामोडमा खुल्न लागेको हो । उक्त होटल सञ्चालनमा ल्याउनका लागि होटल अट्रियम प्रालिले २ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । यो होटल निर्माणको कुल लगानी भने ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त होटललाई ५ तारे होटलका रुपमा कम्पनीले प्रस्ताव गरेको छ ।

सन् २०१६ मा खुलेको यो कम्पनीले १६ हजार ८४३ वर्ग मिटरमा फैलिएको क्षेत्रफलमा उक्त होटल सञ्चालनमा ल्याउन तयारी गरिरहेको छ । सो होटलमा ९८ वटा कोठाहरु हुनेछन् । 

झापाको चन्द्रगढीस्थित विमानस्थलबाट १२.९ किलोमिटर तथा भारतीय सिमाना जोगबनीबाट ३० किलोमिटरको स्थानमा उक्त होटलको निर्माण हुन लागेको हो । पर्यटकिय दृष्टिकोणले पनि इलाम तथा बुढासुब्बा मन्दिरलगायतको नजिक रहेको उक्त ठाउँमा होटल बन्न लागेको हो । 

यो होटलको बोर्ड सदस्यहरुमा मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईं अध्यक्ष रहेका छन् । झापास्थित बिएण्डसी होटलका कार्यकारी निर्देशक तथा पूर्वाञ्चल क्यान्सर होटलका प्रोमोटरसमेत रहेका उनी यो होटलमा भने अध्यक्षमा रुपमा रहेका छन् । 

यो होटलको कुल लगानी ३ अर्ब २९ करोड ८० लाखमध्ये ७१ प्रतिशत कर्जा तथा २९ प्रतिशत लगानीमार्फत निर्माण गर्न लागिएको हो । सुरुवातमा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँको लागतमा बन्ने भनिएको होटलमा हुने कोठाको संख्या ९६ बाट ९८ पुगेसँगै तथा त्हाँ हुने क्यासिनो तथा ब्याङ्क्वेटको डिजाइनमा परिवर्तन, क्यासिनोको क्षमतामा परिवर्तन र निर्माणमा लागि लाग्ने समय बढेसँगै होटलको लगानी बृद्धि भएर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ पुगेको हो । निर्माणका लागि कर्जा मार्फत लिइने १ अर्ब ९९ करोड रुपैयाँको लगानी भने सुनिश्चित भइसक्दा २०२५ को जुलाई अन्त्यसम्म वित्तिय प्रगतीको ८९ प्रतिशत भने कम्पनीले हासिल गरिसकेको छ । 

२०२६ को मध्य जुलाईबाट सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण गरिएको यो होटलमा ९८ वटा कोठा, ब्याङ्क्वेट, क्यासिनोका साथै स्पा, स्वमिङ पुललगायतका अन्य पूर्वाधारसमेत रहेका छन् । 

हालका लागि यो होटल निर्माण गर्न कम्पनीले २ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमध्ये २ अर्ब रुपैयाँकै दीर्घकालिन कर्जा सुविधाका लागि रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई डबल बि माइनस रेटिङ दिएको छ । 


Read Previous

संघीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

Read Next

पाटन अस्पतालको स्तरोन्नती हुँदै, १२०० शय्यामा क्षमता विस्तार हुने

Nepal Purbadhar