Nepal Purbadhar

भोटेकोशी बाढीले १० जलविद्युत् आयोजनामा क्षति, इप्पानद्धारा दु:ख व्यक्त


काठमाडौं । असार २४ गते चीनको तिब्बत क्षेत्र हुँदै नेपाल प्रवेश गरेको लेहेन्दे खोला (भोटेकोशी) मा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍याएको छ । बाढीका कारण नेपाल–चीन सिमाना जोड्ने मितेरी पुल बगाउनुका साथै टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहसमेत पूर्णरूपमा ध्वस्त बनेको छ ।

बाढीमा परी हालसम्म ७ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने १९ जना अझै बेपत्ता छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले एक विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । इप्पानका अनुसार करिब २५० मेगावाट उत्पादन क्षमताका जलविद्युत् आयोजनाको उत्पादन पूर्णरूपमा ठप्प भएको छ भने ३५० मेगावाट क्षमताका निर्माणाधीन आयोजनाहरूको काम अवरुद्ध भएको छ ।

यी आयोजना पूर्णरूपमा बन्द

बाढीबाट प्रभावित आयोजनाहरूमा निम्न जलविद्युत् परियोजनाहरू छन्:

१११ मेगावाट – रसुवागढी जलविद्युत्

६० मेगावाट – त्रिशूली ३ए जलविद्युत्

२५ मेगावाट – त्रिशूली जलविद्युत् केन्द्र

२२ मेगावाट – चिलिमे जलविद्युत्

१४ मेगावाट – माथिल्लो मैलुङ जलविद्युत्

१४ मेगावाट – देवीघाट जलविद्युत्

५ मेगावाट – मैलुङ खोला जलविद्युत्

यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेशनमा क्षति पुग्दा उत्पादन ठप्प भएको हो ।

देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेक अन्य सबै आयोजनामा निजी क्षेत्रको सहभागिता रहेको छ भने निर्माणाधीन आयोजना पूर्ण रूपमा निजी क्षेत्रको नेतृत्वमा निर्माण भइरहेका हुन् ।

निर्माणाधीन आयोजना ठप्प

बाढीले निम्न निर्माणाधीन आयोजनाहरूमा पनि गम्भीर क्षति पुर्‍याएको छ:

२१६ मेगावाट – माथिल्लो त्रिशूली १

१०० मेगावाट – सुपर त्रिशूली

३७ मेगावाट – त्रिशूली ३बी

विद्युत् प्रशारणका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने त्रिशूली ३बी हब सवस्टेशन र प्रशारण लाइनमा पनि क्षति पुगेको हुँदा यस क्षेत्रका अधिकांश आयोजनाबाट आगामी केही दिनसम्म उत्पादन र प्रशारण हुन नसक्ने जनाइएको छ । इप्पानका अनुसार यसबाट हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा हुनसक्छ ।

मुख्य व्यापारिक नाका बन्द, सुख्खा बन्दरगाह ध्वस्त

बाढीले टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौं कन्टेनर र भन्सार बिन्दुमा रहेका सयौं सवारी साधन बगाएको छ । निर्माणाधीन बन्दरगाह पूर्णरूपमा खण्डहर बनेको छ भने नेपाल–चीन मुख्य व्यापारिक नाका मितेरी पुल बगाउँदा दुई देशबीचको व्यापार पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार हुने उक्त नाका बन्द हुँदा नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पर्ने देखिएको छ । इप्पानले यस्तो अवस्थामा सरकारलाई नाका छिटो सुचारु गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ ।

३६ जनाको उद्धार, सुरक्षा संयन्त्रको सक्रियता

रसुवागढी जलविद्युत् आयोजनाबाट मात्र ३६ जना कर्मचारीसहित करिब १५० जनाको उद्धार गरिएको छ। इप्पानले उद्धार कार्यमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देखाएको तत्परताप्रति आभार प्रकट गरेको छ। साथै, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्दै विद्युत् उत्पादन र प्रसारण यथाशीघ्र सुचारु गरिनुपर्ने पनि आग्रह गरिएको छ ।

सावधानी अपनाउन अपिल

इप्पानले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बेपत्ता हुनेहरूको खोजी जारी रहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।


Read Previous

बाढीले ध्वस्त बनाएको रसुवाको टिमुरे क्षेत्र (फोटो फिचर)

Read Next

याक ब्रुअरीको १० महिनाको व्यापार १ अर्ब ६७ करोड

Nepal Purbadhar