Nepal Purbadhar

झ्याप झ्याप बत्ती जाने समस्याले हैरानी, प्राधिकरण भन्छ– प्राविधिक समस्या हो, बत्ती जाने समस्या आगामी १ वर्षमा समाधान हुन्छ


काठमाडौं । पछिल्ला केही महिनादेखि देशभर ‘झ्याप झ्याप’ बत्ती जाने समस्याले सर्वसाधारण हैरान भएका छन् ।

बेलुकीको समयमा अचानक बत्ती जाने र केही मिनेटमै फर्किने क्रम दैनिकजसो दोहोरिने गरेको छ । यसले विद्युत उपयोग गर्ने उपभोक्तामा मात्र होइन, उद्योग-कलकारखाना, अस्पताल, शिक्षण संस्था र सूचना प्रविधिमा आश्रित सेवा प्रदायकहरूमा समेत ठूलो असर पारेको छ ।

एक पटक गएपछि सुरुमा १/२ मिनेटमा नै फर्किने गरेको थियो । तर अहिले ६/७ मिनेटसम्म जाने गरेका कारण समस्या छ ।

नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाही छन् । ती आयोजनाले पर्याप्त बिजुली उत्पादन गरिरहेका छन् । बिजुली सरप्लस भएर भारत र बंगलादेश निर्यात भइरहे पनि नेपालमा भने पर्दो रुपमा बिजुली वितरण हुन सकेको छैन् ।

नेपाल विद्युत प्राधिकरणले यो समस्या ‘लोडसेडिङ’ नभएर ‘प्राविधिक समस्या’ भएको दाबी गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राविधिक समस्याले बत्ती गइरहेको अहिले बत्ती जाने समस्या कम भएको बताए ।

अत्यन्त पूरानो प्रसारण र वितरण प्रणालीका कारण बत्ती जाने समस्या बढेको हो । प्रणालीमा व्यापक सुधार नगरे पर्याप्त बिजुली हुँदा हुँदै पनि लोडसेडिङ हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

जडित क्षमता करिब ३५०० मेगावाट पुगेको छ । आन्तरिक उच्च माग २००० मेगावाटभन्दा तल छ । तै पनि बिजुली झ्याप झ्याप जाने समस्या छ ।

विशेषज्ञहरू भन्छन्, ऊर्जा उत्पादनमा नेपालले उल्लेखनीय प्रगति गरिरहेको भए पनि प्रसारण पूर्वाधारको निर्माण र स्तरोन्नति ढिलो हुँदा समस्या जटिल बन्दै गएको छ । विद्युत सेवा जनजीवनसँग प्रत्यक्ष जोडिने सेवा भएकाले यसको व्यवस्थित सञ्चालन र पूर्वाधार सुधारमा सरकार र प्राधिकरणले थप प्राथमिकता दिनुपर्ने देखिन्छ ।

विद्युत प्रसारण प्रणालीमा देखिएको कमजोरीकै कारण झ्याप झ्याप बत्ती जाने समस्या व्यापक भएको छ । प्राधिकरणले एक वर्षभित्र समाधान हुने दाबी गरे पनि उपभोक्ताले तत्काल राहत पाउने वातावरण छैन। समस्या समाधानका लागि समयमै पूर्वाधार निर्माण, प्रविधि सुधार र प्रणाली सन्तुलनमा ध्यान दिनु आवश्यक छ ।


Read Previous

पोखरामा छाता ओडेर सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन

Read Next

फेरिएको काँठ क्षेत्र: शहर मोहले गाउँ रित्तिँदै