Nepal Purbadhar

भारतीय लगानीमा बन्ने तल्लो अरुणको काम सुरु हुँदै, ५ वर्षमा बत्ती बल्ने

सांकेतिक तस्बिर


काठमाडौं ।  भारतीय लगानीको तल्लो अरुण जलविद्युत आयोजना निर्माण अघि बढ्ने भएको छ ।

संखुवासभाको चिचिला,सिलिचोंग गाउँपालिका र खाँदवारीको नगरपालिका तथा भोजपुरको साल्पासिलिचो र षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीमा निर्माण हुनेछ ।

जडित क्षमता ६६९ मेगावाट छ । भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको हो ।

सन् २०२३ जुन १ तारिखमा परियोजना विकास सम्झौता  (पीडीए) भएको थियो ।  परियोजनाको  विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । पूरक वातावरणीय प्रभाव मूल्यांकन समेत भइसकेको छ ।

तल्लो अरुण जलविद्युत परियोजनालाई आवश्यक पर्ने पानी लिन अरुण तेस्रो जलविद्युत परियोजनाको टेलरेसबाट आउने पानी ६६.४ मिटर लम्बाई, २९.५ मिटर चौडाई तथा २८ मिटर उचाईको हेडपण्ड बनाइनेछ ।

६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको डिजाईन डिस्चार्ज ३४४.६८ घन मिटर प्रति सेकेण्डको छ । परियोजनाको हेडपण्डबाट सिधै इन्टेक मार्फत १७,४०० मिटर लामो र १०.५ मिटर व्यासको हेडरेस टनेलमा पानी प्रवाह गर्नेछ र त्यस पानीलाई ३३.८४ मिटर व्यास भएको सर्ज शाफ्ट, २ वटा ५.८५ मिटर व्यास भएको स्टिल प्रेसर शाफ्ट, ४.१४ मिटर व्यास भएको पेनस्टक पाईप हुँदै अरुण नदीको बायाँ किनारमा रहने सतही | विद्युतगृह (१५० x २४ मि. x ५३ मि.) मा खसालिनेछ । परियोजनाबाट उत्पादित विद्युतलाई अरुण – ३ जलविद्युत परियोजनाको ४०० केभी प्रसारण लाईनमा २ किलोमिटर लम्बाईको लुप इन लुप आउट प्रसारण लाईन मार्फत ४०० केभी ढल्केवर सबस्टेसनमा जोडिनेछ ।


यो परियोजना निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य  छ ।

परियोजनाको निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन २०४९ को दफा २४ बमोजिम भू-क्षय, वायु प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखित प्रतिकूल असर नपर्ने गरी परियोजनाको स्वीकृत पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार गर्न लगाइने कम्पनीले जनाएको छ ।

निर्माणको काम थाल्ने तयारीमा कम्पनी लागेको छ ।


Read Previous

प्रणालीमा समस्या आएको भन्दै बन्द गरियो सवारी लाइसेन्ससम्बन्धी सबै सेवा

Read Next

जब च्याटजीपीटीको सहयोगमा महिलाले तिरिन ३१ लाख ऋण