
काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवाहरु बन्द भएका छन् ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै शुक्रबारबाट विभागमा रहेको सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएका कारण सबै सेवाहरु बन्द भएको जनाएको छ ।
विभागका अनुसार उक्त समस्या समाधानका लागि प्रयास भइरहेको छ । यद्यपी, अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि भने सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरु बन्द रहनेछ ।
पछिल्लो समय सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या आएको भन्दै विभागले पटक पटक सेवा बन्द गरेको थियो । विभागमा लामो समयदेखि यहि समस्या दोहोरिरहँदा सेवाग्राहीले भने सास्ती पाउँदै आएका छन् ।
