Nepal Purbadhar

लबिम मल सञ्चालन गर्ने ललितपुर विशाल बजार मल्टिप्लेक्सले एक वर्षमा गर्‍यो ३५ करोड ६० लाख कारोबार


काठमाडौं । ललितपुरको पुल्चोकस्थित लबिम मल सञ्चालन गर्ने कम्पनी ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनीले एक वर्षमा ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले २०२४ मा ३५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको व्यापार अघिल्लो वर्षकोभन्दा साधारण बृद्धि पनि भएको हो ।

२०२१ मा यो कम्पनीले २० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा भने कम्पनीको व्यापार २८ करोड १० लाख रुपैयाँको व्यापार भएको थियो । २०२३ मा कम्पनीले ३४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीको व्यापारमा साधारण बृद्धि भइरहँदा इबिआइटिडिए मार्जिन (मूल्यह्रास, ब्याज, कर र अमूर्त सम्पत्तिको मूल्यह्रास अघि को सञ्चालन नाफा) भने सामान्य गिरावट भएको छ । २०२१ मा ६४.५५ प्रतिशत रहेको कम्पनीको मार्जिन २०२२ मा ६४.५१ प्रतिशत कायम भएको थियो । २०२३ मा ६९.२१ प्रतिशत मार्जिन कायम भएको कम्पनीको २०२४ मा भने ६७.१७ प्रतिशत मार्जिन कायम भएको छ ।

२००१ मा स्थापना भएको ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी लिमिटेडले पुल्चोकमा २०१६ बाट लबिम मल सञ्चालन गरिरहेको छ । पाटन मल्टिपल क्याम्पसको जग्गा २५ वर्षका लागि लिजमा लिएर लबिम मल सञ्चालनमा आएको छ । यो कम्पनीमा हाल सबैभन्दा धेरै सेयर स्वामित्व ३७ प्रतिशत राजेश कुमार सिद्धीसँग रहेको छ भने तीन जना रहेको कम्पनीको बोर्डलाई दिपशिखा बिक्रम रानाले नेतृत्व गरेका छन् ।

हालका लागि भने यो कम्पनीले ६३ करोड ६ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधा लिनका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स नेपालले कम्पनीलाई ६० करोड ६ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ३ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ । 


Read Previous

चोभार गल्छीको चट्टान हटाउने उद्देश्य छैन- शहरी विकास मन्त्रालय

Read Next

सडकमै मै पार्किङ सुरु, खुले व्यवसायिक सटर