Nepal Purbadhar

सरकारले दिएको १ करोड रुपैयाँ अस्वीकार गर्ने सेजनको निर्णय,चौतर्फी प्रशंसा


काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारले दिएको १ करोड रुपैयाँ अस्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत आगामी वर्षको बजेटमा आर्थिक  पत्रकारहरुका तीनवटै संस्थालाई १/१ करोड रुपैयाँ दिने गरी बजेट विनियोजन गरेको थियो । तीन आर्थिक संस्थामध्ये सेजनले उक्त रकम अस्वीकार गर्ने निर्णय गरेको हो । सेजनको यो निर्णयसँगै अन्य दुई संस्थालाई समेत दबाब परेको छ ।

सेजनको मंगलबार बसेको कार्य समितिको बैठकले उक्त रकम नलिने निर्णय गरेको हो । जसको चौतर्फी रुपमा प्रशंसा समेत भइरहेको छ ।

आर्थिक पत्रकारहरुको छाता संगठनलाई सरकारले विश्वास गरेर देखाएको सदासयताप्रति भने सेजनले धन्यवाद ज्ञापन गरेको छ ।

सेजनले सञ्चार मन्त्रालयसँग कुनै पनि प्रकारको अनुदान माग नगरेको स्पष्ट पारेको छ । साथै सो मन्त्रालयबाट हालसम्म कुनै पनि निःशर्त अनुदान स्वीकार समेत नगरेको बताएको छ ।

वित्तीय स्रोतको अभाव झेलिरहेको नेपाल सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको सेजनले बताएको छ ।

जनताको करबाट प्राप्त स्रोत नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरूको छाता संस्थाले बजेट उपयोग गर्नु पेशागत धर्म र मर्यादा विपरीत हुने निष्कर्ष समेत सेजनले निकालेको छ ।


Read Previous

थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित