Nepal Purbadhar

नेटा अटो ‘बैंकरप्सी’को प्रक्रियामा, नेपालमा के होला?


काठमाडौं । नेटा अटो कुनै बेला चिनियाँ विद्युतीय गाडीको बजारमा उदयीमान कम्पनीका रुपमा देखा परेको थियो । यद्यपी अहिले भने उक्त कम्पनीको अवस्था खच्किएको छ । कम्पनीले जुन १२ बाट बैंकरप्सीको प्रक्रिया अघि सारेको हो । 

पछिल्ला केही वर्षहरुमा नेटा अटोले नगद प्रवाहमा संकट, कार्यकारीहरुको राजीनामा र आपूर्तिकर्ताहरुको दबाब भोग्नु परेको थियो । यीनै समस्याहरु गम्भिर बन्दै जाँदा नेटा अटो बैंकरप्सीको अवस्थामा पुगेको हो । 

विद्युतीय गाडी उत्पादकहरुमा प्रमुख कम्पनीमध्ये एकका रुपमा उदाएको नेटाले २०२२ मा १ लाख ५२ हजार युनिट गाडी बिक्री गरेको थियो । २०२३ मा कम्पनीले १ लाख २७ हजार ५ सय युनिट गाडी बिक्री गरेको थियो । त्यस्तै, २०२४ मा कम्पनीले ६४ हजार ५ सय युनिट बिक्री गरेको थियो । 

तर, २०२५ को जनवरीमा भने कम्पनीले जम्मा ११० युनिट गाडी मात्रै बिक्री गरेको थियो । 

हाल नेटाले आफ्ना कर्मचारीलाई तलबसमेत दिन नसक्ने अवस्था सिर्जना भएको कारन्युजचाइनाडटकमले जनाएको छ । गत नोमेम्बरबाट कम्पनीले कर्मचारीलाई तलबसमेत दिन नसकेको जनाइएको छ । त्यस्तै, कम्पनीले कुल जनशक्तिको आधा कर्मचारी संख्या २ हजार ९ सयजनाभन्दा धेरैलाई बर्खास्त गरेको छ । 

नेपालमा पनि नेटा गाडी शहरी क्षेत्रका लागि चर्चित गाडीका रुपमा रहेको छ । पोखरामा त झन यो गाडीलाई ट्याक्सीका रुपमा प्रयोग गरिन्छ । नेपालमा सिजी मोटर्सले ल्याएको नेटाले ३ सयदेखि ४ सय किमिसम्मको रेन्ज दिने भएकाले यसलाई चलाउन पनि सस्तो हुँदा यो गाडी ट्याक्सीमा रुपमा पनि अत्याधिक प्रयोग भएको छ । तर, मुल कम्पनी नै बैंकरप्सीको प्रक्रियामा गएपछि भने यसले नेटा गाडी किन्नेहरुका लागि चिन्ता सिर्जना गरेको छ । 

मुख्यत: कर्जा सुविधा लिएर गाडी किनेका र त्यहि गाडीबाट दैनिक आम्दानी गरिरहेका ट्याक्सी चालकहरुका लागि भने नेटा अटोको बैंकरप्सीले भविष्यमा गाडीका स्पेयर पार्टस नपाईने, सफ्टवेयर अपटेडजस्ता समस्याहरु आउन सक्ने भएकाले चिन्ता सिर्जना भएको छ । 


Read Previous

सुनचाँदी व्यवसायीको आन्दोलन: सटरमा ताला, सडकमा र्‍याली

Read Next

माथिल्लो त्रिशूली–१ जलविद्युतले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स दियो