
काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजाबादीहरुको शाक्तिपूर्ण सभाले हिंसात्मक रुप लिदाँ दुई जनाले ज्यान नै गुमाएको थिए भने कयौं मानिसहरु घाइते हुनुका साथै सार्वजनिक तथा निजी संरचनाहरु तोडफोड र आगजनी गरिएको थियो ।

सो दिनको घटनामा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन। कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाईएर पूर्ण रुपमा प्रयोग विहिन नै बनाईएको थियो। यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारिकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित बस्तुको बजारिकरण देखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुदाँ सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भएको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालले बताइन् ।

अब कम्पनी सञ्चालन अहिले होला भन्ने निराशाका बीच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको उनले सुनाइन् ।
यस कार्यका लागि वन तथा वातवरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा शिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको रिजालले बताइन् ।

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन ।

अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन भइरहेको रिजालले बताइन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।



								
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    








