Nepal Purbadhar

सर्वसाधारणका लागि १० वर्षपछि खुल्यो बालाजु पौडीपोखरी, कति लाग्छ शुल्क ?


काठमाडौं । बालाजु पौडीपोखरी १० वर्षपछि पुनः सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाले मर्मत सम्भार गरी पोखरी खुला गरेको हो ।

कानपा-१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले पूजाआजा गरेपछि पोखरी सबैका निम्ति खुला गरिएको हो । २०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो ।  २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो । 

पौडीको पूरा शुल्क २ सय रुपैयाँ राखिएको छ । मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ । सिजनल सदस्यहरुका लागि १२ हजार रुपैयाँ तोकिएको छ ।

विद्यार्थीहरुलाई छुट प्रदान गरेर १५० रुपैयाँ तोकिएको छ । २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ । लकर सुविधा लिएवापत ५० रुपैयाँ लाग्नेछ । 

यो पोखरी १८ लाख लिटर क्षमताको हो । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ तीनदेखि १० फिटसम्म रहेको छ । पोखरीमा प्रयोग हुने पानीको शुद्धीकरणका निम्ति प्लान्ट स्थापना गरिएको छ । पानीको पीएच र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको महानगरले जनाएको छ ।

पौडीपोखरीमा १५० जना क्षमताको दर्शक बस्ने ठाउँ पनि छ । यसैगरी व्यवस्थित शौचालय र स्नान घर रहेको छ साथै लकरको व्यवस्था गरिएको छ । सुरक्षाका लागि लाइफ गार्डको व्यवस्था गरिएको छ।


Read Previous

नबिल बैंकको सीईओमा ज्ञवालीको नियुक्ती

Read Next

टेक एण्ड पे पीपीएको विरोधमा ईप्पानको कार्यक्रममा ‘कालो ब्यानर’