
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमार्फत १२ देशका नागरिकमाथि पूर्ण यात्रा प्रतिबन्ध लगाएका छन् ।
अन्य ७ देशका नागरिकको सीमित प्रवेश तोकिएको ह्वाइट हाउसले जनाएको छ।
पूर्ण यात्रा प्रतिबन्ध लगाईएका देशरुमा अफगानिस्तान, चाड, कंगो, इक्वेटोरियल गिनी, एरिट्रिया, हाइटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमन रहेका छन् । ट्रम्पले उक्त आदेश जारी गर्दै भनेका छन्, “हामी हाम्रो देशमा यस्ता अवैध मानिसहरू राख्न सक्दैनौं। युरोपमा जे भयो, त्यो हामी यहाँ हुन दिने छैनौं।”
उनले आफूले अमेरिकामा हानी पुर्याउन चाहनेहरुलाई प्रवेश दिन नसक्ने दाबी गरेका छन् ।
बुधवार घोषणा गरिएको प्रतिबन्धसँगै बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई सीमित प्रवेशको मात्रै अनुमति दिईएको छ ।
यसअघि ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालमा पनि मुस्लिम बहुल सात देश इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएका थिए।