
सांकेतिक तस्बिर
काठमाडौं । काठमाडौं उपत्यका- जहाँ दिनहुँ लाखौं मानिस ट्राफिक जाममा अल्झिन्छन् । जनसंख्या र सवारीसाधन दुवै बढिरहेका छन्, तर सार्वजनिक यातायात भने सुधारिन सकेको छैन । अब, समाधानको खोजीमा ‘पोडवे’ नामक नयाँ प्रविधिको चर्चा सुरु भएको छ ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले पृथ्वी राजमार्गको विमलनगरबाट गोरखाको लिगलिगकोट-भच्चेक-बारपाक-बुङकोट-गोरखाबजार-मनकामना-बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।
आगामी वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले हेटौंडाको काठमाडौं रोप वे रहेको ठाउँमा पोडवेको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । उक्त घोषणापछि ट्राफिक जाम,धुवाधुलो, यातायात असुविधाले हैरानी खेप्नु परेपछि नेपालमा पोडवे बारे चर्चा हुन थालेको छ ।
के हो त पोडवे, के यसले नेपालको सार्वजनिक यातायातको समस्या समाधान गर्न सक्छ ?
पोडवे भनेको केबलमा आधारित अत्याधुनिक सार्वजनिक यातायात हो । केवलकार जस्तै देखिए पनि यो रेलभन्दा तीव्र, सुरक्षित, स्वचालित, र स्मार्ट हुन्छ । विज्ञहरुका अनुसार हाल दुबई, बेलारुस जस्ता देशमा सञ्चालनमा आइसकेको पोडवे अब काठमाडौं पनि भित्र्याउन सकिन्छ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले दुबईमा सञ्चालनमा रहेको पोडवेमा यात्रासमेत गरेर आएपछि कर्णाली प्रदेशमा त्यसलाई कार्यान्वयनमा नै लैजाने घोषणा गरेका थिए ।
नेपालमा पोडवेको विषयलाई लिएर काठमाडौं पोडवे नामक निजि क्षेत्रको एक कम्पनी रहेको छ, जसले लामो समयदेखि यसलाई वैकल्पिक सार्वजनिक यातायातका रुपमा निर्माण गर्नुपर्ने वकालत गर्दै आएको छ । यद्यपी नयाँ प्रविधि भएकाले पोडवेको विषयमा धेरै जानकारीहरु उपलब्ध छैनन् । उपलब्ध रिसर्चका आधारमा भने पोडवेको गति घण्टामा १५० किमि सम्म पुग्न सक्ने देखिन्छ । एउटा पोडमा ४२ यात्रु चढ्न सक्छन् । १ घण्टामा करिब ५० हजार यात्रु ओसारपसार गर्न सकिन्छ । अझ रोचक कुरा के भने यो सेवा एआईले नियन्त्रण गर्छ, चालक र सहचालकको आवश्यकता पर्दैन ।
नेपालमा सार्वजनिक यातायात अव्यवस्थित छ। मेट्रो रेल महँगो र कठिन छ। तर पोडवे? सस्तो, छिटो,वातावरणमैत्री – सफा बिजुलीबाट चल्ने विकल्प हुने विज्ञहरु बताउँछन् । न ट्राफिक जाम, न धुलो–धुवाँ । नदी किनार वा सडक माथिबाट सञ्जाल विस्तार गर्न सकिन्छ- जग्गा मुआब्जाको झन्झट पनि नहुने विज्ञहरुको बुझाई छ । पोडवे मेट्रोभन्दा चार गुणा सस्तो, केबलकारभन्दा आधा खर्चिलो हुने यससम्बन्धि जानकारहरुको बुझाई छ ।