
काठमाडौं । अग्नी सिमेन्ट उद्योग लिमिटेडको व्यापारमा भारी गिरावट भएको छ ।
सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको २०२३ मा व्यापार घटेर ६७ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।
२०२४ मा कम्पनीको व्यापारमा थप गिरावट आएर ४० करोड २० लाखमा सिमित भएको छ ।
कम्पनीको व्यापारमा गिरावट आईरहँदा यसको पिबिआईएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) भने सुधारिएको छ । २०२२ मा ८.५७ प्रतिशत कायम भएको यो मार्जिन २०२३ मा घटेर ३.४७ प्रतिशतमा सिमित भएको थियो । २०२४ मा भने मार्जिनमा सुधार आएर १३.१९ प्रतिशत मार्जिन कायम भएको छ ।
सन् २००७ मा खुलेको अग्नी सिमेन्ट उद्योग सन् २०२२ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । पिपिसी र ओपिसी सिमेन्टको उत्पादन गर्ने यो कम्पनीले दैनिक ९ सय मेट्रिक टन प्रति दिनको दरले सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको बोर्ड अध्यक्षमा भने कृष्णप्रसाद पोख्रेल रहेका छन् ।
हालका लागि भने कम्पनीले ९१ करोड ६८ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई ५२ करोड ६८ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि माइनस र ३९ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।