
काठमाडौं । गत महिनाबाट दोस्रो हेलिकप्टर सञ्चालनमा ल्याएको अन्नपुर्ण हेलिकप्टर प्रालि तेस्रो हेलिकप्टर खरिद गर्नका लागि कर्जा लिन लागेको छ ।
कम्पनीले ८१ करोड ४८ लाख रुपैयाँको कर्जा सुविधाको रेटिङ गराएको छ । ७०:३० को कर्जा र लगानीको अनुपातमा किन्न लागेको हेलिकप्टरका लागि कम्पनीले कर्जा सुविधाका लागि रेटिङ गराएको हो ।
सन्को २०१७ मा सञ्चालनमा आएको अन्नपुर्ण हेलिकप्टर प्रालिले सन् २०२२ देखि सेवा सञ्चालनमा ल्याएको थियो । २०२३ मा ३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै २०२४ मा कम्पनीको व्यापारमा केही बृद्धि भएर ४ करोड ८० लाख रुपैयाँको व्यापार भएको थियो ।
कम्पनीको व्यापारमा क्रमश: सुधार भईरहँदा कम्पनीको मार्जिन भने हालसम्मै नकरात्मक रहेको छ ।
अन्नपुर्ण हेलिकप्टर प्रालिमा सेवा क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि संलग्न रहेका ज्ञानेन्द्र श्रेष्ठ अध्यक्ष रहेका छन् । उनी नेपालमा सञ्चालनमा रहेको बेलिज् क्यासिनोका पनि कार्यकारी निर्देशक हुन् । कम्पनीले मुख्य गरि चार्टर उडान, उद्धार उडान र धार्मिक उडानहरु गर्ने गरेको छ । कम्पनीको कार्यालय भने सिनामंगलमा रहेको छ ।
नकरात्मक मार्जिनमा चलिरहेको कम्पनीले तेस्रो हेलिकप्टर किन्ने तयारी गरिरहँदा ८१ करोड ४८ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ३६ करोड ७८ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि र ४४ करोड ७० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।