
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी पुल भाँचिएपछि नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा बजारको पश्चिमतर्फ रहेको पुलको पूर्वपट्टिको बायाँ भाग लोड सवारी पास हुँदै गर्दा करिब डेढ फिट तल झरेर भाँचिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले जानकारी दिए।
प्रहरीका अनुसार पुल भाँचिएपछि पूर्व–पश्चिम यात्रा गरिरहेका सवारीसाधन चोरमारा र अरुणखोलामा रोकिएका छन्।
यसअघि दिउँसो बिरेन्द्रनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २१३१ नम्बरको बसको पट्टा भाँचिएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालनमा आएको थियो।
त्यसक्रममा म.प्र.०३–००१ क ३१६३ नम्बरको १८ चक्के टेलर होल्ड हुँदा पुलमा अत्यधिक लोड परेको र बीच भाग दबिएको जनाइएको छ। उक्त टेलर होङ्सी सिमेन्ट कम्पनीबाट कच्चा पदार्थ बोकेर वीरगञ्जतर्फ गइरहेको थियो।
प्रमुख ढकालका अनुसार वैकल्पिक मार्ग निर्माणका लागि प्रयास भइरहेको छ। चार महिनाअघि पनि सोही प्रकारको घटनामा दुम्किबारस्थित विनयी पुल भाँचिएको थियो ।
तस्बिर: गोर्खापत्र दैनिक