Nepal Purbadhar

विद्युत प्राधिकरणले भन्यो-आइपिएलका कारण भारतले बिजुली दिएन


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइपिएलका कारण भारतले बिजुली नदिएको बताएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै प्राधिकरणले भारतमा आइपिएलका कारण विद्युतको माग बढ्दा नेपाल नपठाएको उल्लेख गरेको छ । प्राधिकरणले जारी गरेको विज्ञप्ती अनुसार  भारतबाट पावर एक्सचेन्ज कमिटी (पीइसी) मार्फत बेलुका ६  बजेदेखि विहान ६:०० बजे सम्म १३२ केभी लाइन मार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपुर्ति गर्ने अनुमति पाएको थियो ।

हाल मैनैया-सम्पतिया लाइनबाट विहान २ बजेदेखि ६: बजेसम्म र बेलुका ६ बजेदेखि ६ बजेसम्म गरि जम्मा ५० मेगावा मात्र विद्युत आपुर्ति भइरहेको छ । भारतमा आइपिएल खेल जारी रहदा माग बढेकोले इण्डियन इनर्जी एक्सचेन्जको दररेट  पीइसीको दररेट भन्दा बढी भएकोले विहारसंग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत प्राप्त हुन सकेको छैन ।

भारतले दिइरहेको ६०० मेगावाट बिजुली कटौती गरेर ५० मेगावाट मात्रै दिन थालेपछि उद्योगमा १३ घण्टासम्म लोड कटौती हुन थालेको छ । जसको चौतर्फी आलोचना भएपछि प्राधिकरणले विज्ञप्ती जारी गरेर आइपिएलका कारण बिजुली आयात गर्न नसकिएको उल्लेख  गरेको हो ।

नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाही छन् । सुक्खा याममा नदिनालाको बहाव  कम भइ उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । वर्खामा सरप्लस हुने भएपनि हिउँदमा भारत आयात गरेर माग धान्नुपर्ने बाध्यता छ । हिउँदमा ६०० मेगावाटसम्म भारतबाट आयात हुन्छ ।

प्राधिकरणका अनुसार  जलाशय र सौर्य ऊर्जा सहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट छ । हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट  छ । नपुग विद्युत भारतबाट आयात गरि आपूर्ति गर्ने गरिएको छ । गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको प्राधिकरणका अधिकारीहरुको भनाई छ ।


Read Previous

सिडेनले इन्जिनियरहरुको राष्ट्रिय सम्मेलन बिहिबार गर्ने, ५०० बढी इन्जिनियरहरु सहभागी हुने  

Read Next

एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’: बक्सी डिजाइन र पप-अप हेडलाइटसहित आयो