Nepal Purbadhar

नेपाल र भारतका ऊर्जामन्त्री गरे ९०० मेगावाटको अरुण तेस्रोको अवलोकन, बिजुली बन्छ कहिले ?


 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका  विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

उर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय समकक्षी खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सोही क्रममा उहाँहरुले आयोजनाको ‘युनिट–२’को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षारोपण समेत गरेका छन् ।

अवलोकनका क्रममा मन्त्रीद्धयले ठेकेदार कम्पनीसँग अहिलेसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएको समस्याको बारेमा जानकारी लिएका थिए । उर्जामन्त्री खड्काले नेपालको उर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए । ‘अरुण तेस्रो देशकै महत्वपूर्ण जलविद्युत आयोजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ,सरकारले कुनै कमी हुन दिँदैन, तपाईँहरुले आयोजनालाई चाँडो सम्पन्न गर्न लाग्नुहोस्,”– उर्जामन्त्री खड्काले भने ।

भारतका विद्युतमन्त्री खट्टरले नेपाल जलविद्युतको क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले उर्जा क्षेत्रबाटै समृद्धि हाँसिल गर्न सकिने बताए । उनले अरुण तेस्रो जलविद्युत आयोजना चाँडो सम्पन्न गर्नसके दुबै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिए । भारत सरकार नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाई थियो ।

संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना ९०० मेगावाटको रहेको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी विस २०७५ वैशाखमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।  एक खर्ब चार अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाईड्रोपावर कम्पनीले पाएको छ ।


Read Previous

‘दिगो ऊर्जाका लागि लगानी’ को सपना देखाउने सीईओको बिदाइ: गौतमले एचआईडीसीएलमा के छाडे?

Read Next

नेपाल र भारत ४०० केभी क्रस बोर्डर ट्रान्समिसन लाइनको विकासका लागि समझदारीपत्रमा हस्ताक्षर