
काठमाडौं । चार वर्षअघि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को एक शान्त तर दृढ स्वभावका व्यक्तिले प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व सम्हाले ।
संस्थागत अनिश्चितता र लगानीकर्ताको आशंकाबीच उनले जुन यात्राको थालनी गरे, त्यो केवल कार्यकालको घडीमा मात्र सीमित रहेन । संस्थालाई सशक्त बनाउँदै सहि मार्गमा हिडाउने अभियान बन्यो । उनको कार्यकालमा एचआईडीसीएलले वित्तिय संस्था भएको नयाँ परिचयसहितको पुनर्जीवन पायो ।
४ वर्ष अघि एचआईडीसीएलका जिम्मेवारी सम्हाल्ने व्यक्ति हुन्- अर्जुन कुमार गौतम ।

उनी चार वर्षे सफल कार्यकाल सकेर बैशाख १२ गते कर्मचारी सञ्चयकोष फर्कदैछन् । गौतमले २०७८ बैशाख १३ गते सीईओको जिम्मेवारी सम्हालेका थिए । गौतम कर्मचारी सञ्चयकोषमा दुई साताभन्दा कम समयमा नै रिटार्यड हुँदैछन् ।
उनले एचआईडीसीएलको जिम्मेवारी सम्हाल्दा ११ बुँदे लिखित प्रतिबद्धता पेश गरेका थिए । जसमा कसरी काम गर्ने भन्ने विषय प्रष्ट उल्लेख थियो । कम्पनीको सीईओ भएपछि बिजनेस प्लान बुझाउनै पर्यो । उक्त बिजनेस प्लानलाई जोडेर कम्पनीको ४ वर्षे रणनीतिक योजना बनाएर गौतम अघि बढे ।
चार वर्षको कार्यकालमा गरेका कामहरु ,गर्न नसकेका कामहरु, अब गर्नुपर्ने कामहरु समेटेर श्वेतपत्र तयार पारेका छन् । उक्त श्वेतपत्र सञ्चालक समिति र नयाँ नेतृत्व सम्हाल्ने सीईओलाई दिने उनको योजना छ ।
कम्पनीमा नयाँ सीईओ नियुक्तिको प्रक्रिया सुरु भइसकेको छ । विज्ञापन भएर प्रक्रिया सुरु भइसकेको । ५/७ दिनमा नयाँ सीईओ नियुक्त हुने अवस्था छ ।
नेतृत्व नहुँदा अनिर्णय समस्यामा संस्था नपरोस् भन्ने हेतु राखेर गौतमले कार्यकाल सकिनु अघि नै नयाँ नेतृत्वका लागि विज्ञापन गरेका हुन् । ‘सामान्यतयाँ धेरै संस्थामा यस्तो देखिदैन् । नयाँ सक्सेसरलाई कार्यभार हस्तान्तरण गरेर जाने इच्छा छ,’ गौतमले भने ।

उनी रणनीतिक योजना बनाएर कार्यान्वयनमा लागिरहेको दाबी गर्छन् । ‘संस्थाको गन्तव्य प्रष्ट पारे । एचआईडीसीएल विशिगष्टीकृत वित्तिय संस्थाको रुपमा विकास गरे । यो रणनीतिक उपलब्धी हो,’ उनले भने, ‘ मेरै कार्यकालमा एचआईडीयसीएल ‘दिगो ऊर्जाका लागि लगानी’ भन्ने भिजन बनाएर अघि बढ्यो ।’
अहिले एचआईडीसीएललाई वित्तिय संस्थाको हैसियतले सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्न थालेको छ । बैंक तथा वित्तिय संस्था सरह कन्सोर्टियम फर्मको नेतृत्व गर्न पाउने अधिकारी कम्पनीले पाएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीले प्रवर्धन गर्न लागेको १०६१ मेगावाटको अप्पर अरुण (माथिल्लो अरुण), २१० मेगावाटको चैनपुर सेती, ८७ मेगावाटको बझाङ सेतीको कन्सोर्टियम फर्मको लिड गर्दैछ । यी परियोजनामा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दैछ ।

अप्पर अरुण अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा ५३ अर्ब ३४ करोड स्थानीय लगानी हुनेछ । त्यसका लागि स्थानीय बैंक तथा वित्तीय संस्थासँग सम्झौता भइसकेको छ ।
वित्तिय संस्थाको मान्यता पाएका कारण कर्जा असुलीका लागि कर्जा असुली न्यायाधिकरण जाने बाटो समेत खुलेको छ ।
कुनै पनि संस्था संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन र त्यसको आधारमा सार्वजनिक विश्वसनीयता विश्वसनीय बनाउन नीति,विधी र पद्धती अनुसार काम गर्छ भन्ने स्थापित हुनुपर्छ । अरुलाई विश्वास दिलाउनुपर्छ । यहि काममा गौतम कार्यकाल भरी लागिरहे । यो बीचमा
१२ वटा नीति, नियम र कार्यविधी तर्जुमा भयो । पूराना कार्यविधीहरु संशोधन भए । संस्थागत सुशासन बलियो हुँदै गएको । नीति विधि र पद्धतीमा संस्था चल्न थालेको उनको दाबी छ ।
कम्पनीले प्रवर्धक भएर सहायक कम्पनीका रुपमा ७०.५ मेगावाटको सिम्बुवा खोला र ७७.३ मेगावाटको घुन्सा खोला निर्माण अघि बढाएको थियो । वित्तिय संस्थाले प्रवर्धकको भुमिका निभाउनु हुँदैन र एउटै परियोजनामा धेरै लगानी गर्दा उच्च जोखिम हुने भन्दै नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीसँको साझेदारी आयोजना निर्माण हुँदैछ । एचआईडीसीएलले प्रवर्धन नगरी १५ प्रतिशत सेयर लगानी गर्नेछ । अर्थात यी परियोजना विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको नेतृत्वमा बन्नेछन् ।

लगानीकर्ता रुपमा एचआईडीसीएलको भुमिका हुनेछ । गौतम एचआईडीसीएललाई सरकारको पूर्वाधारमा लगानी गर्ने नोडल एजेन्सी बनाउन चाहान्छन् । त्यसैका लागि उनले यो कम्पनीलाई वित्तिय संस्थाको रुपमा नयाँ जीवन दिएका हुन् ।
गौतमको इमानदार कार्यशैली, विनम्र व्यवहार र उच्च पेशागत प्रतिबद्धताले उनलाई एचआईडीसीएल भित्र मात्र होइन, समग्र ऊर्जा क्षेत्रमा चिनाएको छ । उनको कार्यशैलीले कम्पनीलाई लाभ त दियो नै, संस्थागत अनुशासन र दीर्घकालीन सोचको सन्देश दिएको छ ।

गौतमको चार वर्षे कार्यकाल केवल रणनीतिक निर्णय र संस्थागत सुधारमा मात्र सीमित रहेन, उनले व्यक्तिगत जीवनशैलीमा समेत उदाहरणीय सादगी प्रस्तुत गरे । सीईओको हैसियतमा रहँदा पनि उनले कहिल्यै विलासिता रोजेनन् । नयाँ गाडीको माग गर्न सक्ने सुविधा हुँदाहुँदै पनि उनले संस्थाको पूरानै गाडी प्रयोग गर्दै चार वर्ष कार्यकाल पूरा गरे ।
चार वर्षको यस अवधिमा १५ वटा आयोजना ४४ अर्ब ६९ करोड रुपैयाँ नयाँ ऋण स्वीकृत भएको छ । पहिले ऋण लगानी गरेका ५ आयोजनामा १ अर्ब ८०करोड रुपैयाँ थप ऋण स्वीकृत भएको छ । कुल ४६ अर्ब ४९ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ ।

४ जलविद्युत आयोजना र २ सौर्य गरी ६ आयोजनामा २ अर्ब ३२ करोड रुपैयाँ सेयर लगानी स्वीकृत भएको छ । समग्रमा २१ वटा आयोजनामा ४८ अर्ब ८१ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । केहि आयोजना पाइपलाइनमा स्वीकृत हुने चरणमा छ ।
स्वीकृत भएकामध्ये ७ अर्ब ८ करोड रुपैयाँ प्रवाह कम्पनीले गरेको छ । प्रवाहमा भने केहि कमजोरी देखिएको छ । विभिन्न प्राविधिक कारण जलविद्युतमा लगानी डिस्पर्समेन्ट गर्न समय लाग्छ ।

कम्पनीले प्रत्येक वर्ष मुनाफा कमाएर ५ प्रतिशतभन्दा बढी लाभांश वितरण गरिरहेको छ ।
राइट सेयर जारी भएपनि सब्सक्राइभ नभएको अवस्थाबाट कम्पनी गुज्रिरहेको थियो । जसले कम्पनीको विश्वसनीयतामाथि प्रश्न उठाइरहेको थियो । विधिगत रुपमा त्यसको समाधान गौतमको कार्यकालमा भएको छ । सबै जारी भएको पुँजी संकलन भइसकेको छ । यो कम्पनीका लागि ठूलो उपलब्धी भएको उनको दाबी छ ।
ऊर्जामा जलविद्युत मात्रै छैन्, अरु क्षेत्र पनि छन् भन्ने हिसाबले कम्पनी नवीकरणीय ऊर्जामा पनि लगानी थालेको छ । सोलार र अन्य नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गर्ने भनेर कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन भएको छ ।
नेपाल सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ स्वीकृत गरेको छ । जसमा सन् २०३५ सम्म २८,५०० मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ । वितरण र प्रसारणप्रणाली समेत सोही अनुसार बनाउने लक्ष्य लिएको छ ।

एचआईडीसीएलले सरकारको उक्त योजनालाई सहयोग गर्न एचआईडीसीएल भिजन-२०३५ तयार पारेको छ । जुन कम्पनीको सञ्चालक समितिमा समेत छलफल भइसकेको छ । सरोकारवाला निकायहरुसँग समेत छलफल समेत गरिसकेको छ ।
सेयरको रकमबाट मात्रै लगानी गरिरहेको कम्पनीले वैकल्पिक वित्तिय साधन परिचालन गर्ने योजना अनुसार बोण्ड जारी तयारी गरेको छ । त्यसका लागि अवधारणापत्र तयार पारेर सरोकारवाला निकायहरुसँग छलफल गरिसकेको छ । पुँजी कोषबाट मात्रै लगानी सम्भव नहुने भएकाले कम्पनी वैकल्पिक स्रोतमा जान लागेको हो ।