
काठमाडौं । यहि साता नेपाल विद्युत प्राधिकरणले आफ्नो वित्तिय अवस्था समेटेर श्वेतपत्र ल्याउने तयारी गरेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले श्वेत पत्र ल्याउने अन्तिम तयारी भएको बताएका छन् । उनले कार्यकाल सम्हाल्दै प्राधिकरणको श्वेत्र पत्र ल्याउने घोषणा गरेका थिए । साथै प्राधिकरणको सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय समेत गरिसकेको छ ।
श्वेतपत्रमा अहिलेको प्राधिकरणको वित्तिय अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ । ‘प्राधिकरणमा कुलमान घिसिङको दोस्रो कार्यकालमा भएका विषयहरु समावेश हुनेछन् । उहाँले देखाएको नाफाको विषयमा समेत उल्लेख हुनेछ । प्राधिकरण वित्तिय रुपमा समस्यामा पर्दैछ,’ स्रोतले भन्यो, ‘वित्तिय रुपमा बलियो हुनका लागि गरिने कामहरु समेत समावेश गरिनेछ ।’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार प्राधिकरणले ठेक्का लगाएर निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न सकेको छैन् । सहायक कम्पनीहरुलाई सेयर बापत दिनुपर्ने भुक्तानी दिन सकेको छैन् । यी दुई गरी करिब ११ अर्ब रुपैयाँ भुक्तानी प्राधिकरणले दिन सकेको छैन् ।
शाक्यले प्राधिकरणको अहिलेको वास्तविक अवस्था देखाउन र आगामी दिनमा गरिने योजना समेटेर श्वेतपत्र ल्याउन लागेको बताए ।
सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।