Nepal Purbadhar

विद्युत उत्पादन कम्पनीले अर्थसँग माग्यो तीन अर्ब, सोलारमा लगानी गर्ने


काठमाडौं । सोलारका परियोजनामा लगानी गर्न भन्दै विद्युत उत्पादन कम्पनी लिमिटेडले अर्थ मन्त्रालयसँग ३ अर्ब रुपैयाँ मागेको छ ।

ठूला जलविद्युत आयोजनाको लाइसेन्स भएको कम्पनीले तत्कालै ती परियोजना निर्माण जान सक्ने अवस्था नभएपछि सोलारको परियोजनामा लगानी गर्न लागेको हो । ‘हामीले अर्थसँग ३ अर्ब रुपैयाँ मागेका छौं । यो सोलारका परियोजनाका लागि इक्विटी हुनेछ,’ स्रोतले भन्यो, ‘ ऊर्जामार्फत अर्थ मन्त्रालयमा फाइल पुगेको छ ।’

कम्पनीले विभिन्न ठाउँमा सोलारका परियोजना बनाउने योजना बनाएको छ । दैलेखमा करिब ३० मेगावाटसम्म परियोजना पहिचान गरेको छ । अन्य सम्भावित स्थानमा समेत कम्पनीले पहिचान गरिरहेकोछ ।

कम्पनीले ४८० मेगावाटको फुकोट कर्णाली अर्ध-जलाशय प्रकृतिको जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीसँग सयुक्त रुपमा विकास गर्न लागेको छ । मुद्धा परेका कारण एक वर्षदेखि परियोजनाको काम भने ठप्प छ ।

१९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन भइरहेको छ । यो परियोजना निर्माणका लागि साढे चार खर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

१०६ मेगावाटको जगदुल्ला र ४१७ मेगावाटको नलगाडमा कम्पनीको २६ प्रतिशत सेयर छ । किमाथांका अरुण पनि अध्ययन सकेर निर्माणमा जाने तयारी छ ।


Read Previous

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन, उद्योगी गदगद

Read Next

बाढी पहिरोका कारण ६ राजमार्ग पूर्ण रुपमा अवरुद्ध, अरुको अवस्था के छ ?

Nepal Purbadhar