Nepal Purbadhar

प्राधिकरणले ६ उद्योगमा काटिएकाे विद्युत लाइन जोड्यो


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल बक्यौता विवादमा परेका ६ उद्योगमा काटिएको विद्युत लाइन जडान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिबाटको निर्णय बमोजिम मंगलबार रातिबाट सबै उद्योगमा काटिएको विद्युत लाइन जोडिएको हो ।

राति ८ बजेदेखि सबै उद्योगको विद्युत आपूर्ति सुचारु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेसँगै प्राधिकरणले मंगलबार रातीदेखि यी उद्योगमा विद्युत जडान गरिएको मन्त्री खड्काले बताए ।

“उद्योगीले पनि वक्यौता रकम तिर्नुपर्छ, प्राधिकरणले पनि लाइन काट्न हुँदैन,”– उनले भने ।

प्राधिकरणले ३ महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।

उद्योगहरुले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो ।


Read Previous

जिल्ला पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ७३ प्रतिशत   

Read Next

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल