Nepal Purbadhar

म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार


म्याग्दी । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार गरेकाे हो ।

कार्यालयका प्रमुख झलकमोहन ओझाले ३४ योजनामार्फत ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताए । “म्याग्दीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,” उनले भने, “सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ ।”

कार्यालयका सव इञ्जिनीयर अञ्जन खत्रीले गत आर्थिक वर्षमा ८ हजार ९ सय ४४ मिटर पक्की नहर निर्माण र ११ हजार ४७ मिटर पाइपलाइन जडान भएको जानकारी दिए । ती योजनाबाट ९ हजार ७ सय ४९ जना किसान लाभान्वित भएका उनले बताए । धवलागिरि गाउँपालिका–७ को हिलापोखरी सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले पक्की नहर बनेपछि बारी बनाएर कोदो रोप्न थालिएको खेतलाई यसपाली किसानले धान रोपाइँ गरेको बताए ।

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट हिलापोखरीमा ५ सय ६५ पक्की नहरसहितको सिँचाइ आयोजना निर्माण भएको थियो । गत आर्थिक वर्षमा कुल १६ करोड १४ लाख २५ हजार रुपैयाँ पुँजीगत बजेट भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले ९२ प्रतिशत अथवा १४ करोड ८२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार कूल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार ४ सय १९ अथवा ६३ प्रतिशतमा खेती भएको छ । कूल ११ हजार तीन सय ५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ ।

खेती भएकोमध्ये ३०.८४ प्रतिशत अथवा ६ हजार १३ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । एक हजार ६ सय १३ हेक्टरमा बाह्रैमहिना र ४ हजार ३ सय ३३ हेक्टरमा मौसमी सिँचाइ सुविधा छ । खेती भएकोमध्ये ६९.१६ प्रतिशत अथवा १३ हजार ४ सय ८५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छैन ।

Facebook Comments

Read Previous

बाँकेकाे राप्तीसोनारी र खयरभट्टीमा अझै पुगेन विद्युत पहुँच,ठेकेदार सम्पर्कविहिन हुँदा काम अलपत्र

Read Next

ग्वालीचौरका स्थानीयको अवरोधले बुर्तिबाङ सबस्टेसन सञ्चालनमा ढिलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar