लोमान्थाङ । स्थानीय किसानबाट गुणस्तरको च्याङ्ग्रा भूवा संकलन गरी समग्र पश्मिनाको गुणस्तर बढाउने उद्देश्यले मुस्ताङको लोमान्थाङमा च्याङ्ग्रा फाइवारबाट आधुनिक तरिकाले धलो झार्ने प्लान्ट ( डिडस्टिङ प्लान्ट ) स्थापना भएको छ ।
नेपालका लागि बेलायती राजदूत रब फेन, लोमान्थाङ गाउँपालिका प्रमुख टासी नुर्बु गुरूङ र उपप्रमुख छुमी विष्टले संयुक्तरूपमा उक्त प्लान्टको शुभाभ्म गरे । । उद्घाटनका क्रममा राजदूत फेनले नेपाली च्याङग्रा पश्मिनालाई फार्म देखि फेसनसम्मको मूल्य श्रृंखलामा व्रान्डिङ गर्नको लागि यस प्लान्टको स्थापनाले महत्वपूर्ण सहयोग पुग्ने बताए ।
राजदुत फेनले महत्वपुर्ण गुणस्तर रहेको र आफ्नै कथा रहेको पश्मिना क्षेत्रलाई वेलायतको बजारमा प्रवर्द्धनको लागि आफ्नो सहयोग जारी रहने बताए । साथै, राजदूत फेनले लोमान्थाङमा चयाङग्रा भूवा संकलन गर्ने कार्यको पनि सुरूआत तथा अवलोकन गरे ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीयवासी विशेषगरी युवा तथा महिलाको रोजगारीका अवसर सिर्जना गर्न र आय आर्जनमा वृद्धि गर्न च्याङग्रा र फाइवरको उत्पादन र फाइबरलाई प्रवर्द्धन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले यस लक्ष्यलाई अगाडि बढाउन सरोकारवाला निकायहरूसँग सँग सहकार्य गर्न तयार रहेको बताए।
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले पश्मिना व्यवसायीले स्थानीय च्याङ्ग्रा किसानलाई पश्मिना मूल्य श्रृंखलामा समाहित गर्दै राम्रो मूल्य र बजार उपलब्ध गराउन पश्मिना उद्यमीले प्रयास गरिरहेको उल्लेख गर्दै यस क्षेत्रको प्रवर्द्धनको लागि सरकार र विकास साझेदार संस्थाको सहयोगको अपेक्षा गरे ।
च्याङग्रा पालनको लागि अग्रणी मुस्ताङ जिल्लाका स्थानीय कृषकहरुबाट संकलन गरिएको फाइबरको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तयार निर्माण गरिएको उक्त प्लान्टको लोमान्थाङमा स्थापना भएको हो । विशेष गुणस्तरको लागि विश्वमा प्रसिद्धि कमाएको नेपाली पश्मिनाको माग अन्तर्राष्ट्रय बजारमा अत्यधिक छ ।
नेपाल पश्मिना उद्योग संघ ले युनाइटेड किंगडम ट्रेड पार्टनरसिप प्रोग्राम नेपाल (UKTP-Nepal) तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा स्थापना गरेको यो प्लान्टले नेपालको पश्मिना उत्पादन र निकासीका लागि उच्च गुणस्तरको च्याङग्रा फाइबरको आपूर्तिलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।
च्याङग्रा पश्मिनालाई सरकारले नेपालको उच्च सम्भावित निर्यातजन्य वस्तुको रूपमा लिएको छ । गत वर्ष, नेपाल सरकारले नेपाल पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२-२०२६ ल्याएको थियो, जसमा सन् २०२६ सम्ममा पश्मिना निर्यात ७५ मिलियन अमेरिकी डलरमा पुर्याउने लक्ष्य राखिएको छ।