Nepal Purbadhar

एक महिनामा ९० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण 


काठमाडौं ।  सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ । तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन् ,”उनले भने ।

विगतका महिनामा झैं यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार दुई सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट आठ हजार तीन सय ८१ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट ८ हजार ५ सय २७ पर्यटक नेपाल भित्रिएका छन् ।


Read Previous

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको १८ करोड विद्युत बक्यौता उठ्न बाँकी

Read Next

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान