काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका ग्राहाकका लागि प्रटिलिटर १६८.५० रुपैयाँ, दोस्रो वर्गका लागि १७० रुपैयाँ र तेस्रो वर्गका लागि १७१ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १५१.५०रुपैयाँ, १५३ रुपैयाँ र १५४ रुपैयाँ पुगेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ । नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइओसीले पेट्रोलको मूल्यमा प्रतिलिटर ६.७५ रुपैयाँ र डिजेलको मूल्यमा प्रतिलिटर ५.०९ रुपैयाँ घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।