म्याग्दी । भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी) ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल २२० केभी राहुघाट सबस्टेसन निर्माण सुरु गरेकाे छ । भारतीय कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा सबस्टेसन बनाउन सुरु गरेकाे हाे ।
जनप्रतिनिधि र सरोकारवालाको दबाब तथा आयोजनाको ताकेतापछि ठेकेदार कम्पनीले २७ महिनापछि राहुघाटमा सबस्टेसनको काम थालेको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए । “धेरै प्रयासपछि ठेकेदारले सबस्टेसन निर्माण थालेका छन्”, उनले भने, “हाल ठेकेदार कम्पनीले दैनिक १५० जना कामदार परिचालन गरेर काम गरिरहेकाे छ । ”
उनले राहुघाटमा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिने बताए । उनका अनुसार २०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम थालिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमबाट रघुगङ्गा–३ राहुघाटको अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै स्थानमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनीसँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता गरेकाे थियाे ।
अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण गरिएकाे थियाे । सबस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्यौलमा परेको थियो । ढिलै भए पनि सबस्टेसन निर्माण सुरु भएकामा जलविद्युत् आयोजनाका प्रवर्द्धक आशावादी बनेका छन् ।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंककाे ऋणमा सबस्टेसन र प्रसारण लाइन बनाउन लागिएको हो ।
डाँडाखेत सबस्टेसनमा भने काम भइरहेकाे छ । १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको अग्रवालले बताए ।
डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो । दुवै ठाउँका सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसके पनि प्रयोगमा ढिलाइ हुँदा बिग्रने जोखिम बढेको प्राविधिकले बताएका छन् ।
करिब २५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७९ वटा टावरमध्ये हालसम्म १२ वटा निर्माण सकिएका र ३८ वटा निर्माणाधीन रहेका आयोजनाले जनाएको छ । रघुगङ्गा–३, बेनी नगरपालिका–९ र १०, मङ्गला गाउँपालिका–१, मालिका–६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् ।
दुवै ठाउँमा यसअघि नै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भइसकेका छन् । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।
राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् ।