Nepal Purbadhar

माथिल्लो काबेलीमा माछापुच्छ्रेकाे अगुवाईमा ३ बैंकले ४ अर्ब २३ करोड बढी लगानी गर्ने


काठमाडौं। ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पहिचान भएको २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी जुटेको छ । पीस इनर्जी कम्पनी प्रालि र टेस्ला हाइड्रो युएसले निर्माण गर्ने आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

आयोजनाको प्रवद्र्धक कम्पनी र बैंकहरूबीच बुधबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । कूल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ४ अर्ब २३ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण कूल लगानीको ७५ प्रतिशत हो ।

आयोजनामा अगुवाई गरेको माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले १ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ७५ करोड रुपैयाँ र राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब गरी कूल ४ अर्ब २३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आयोजनाको प्रवर्द्धक कम्पनीले स्वपुँजी बापतको १ अर्ब ४१ करोड १९ लाख रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी गर्नेछ । स्वपुँजी लगानी संरचना पूरा गर्न आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणमा सेयर निस्कान गरी पूरा गरिने कम्पनीले जनाएको छ ।

यो आयोजनामा पीस इनर्जीको सरोकारवाला टेस्ला हाइड्रो इनर्जीले अमेरिकामा बसोबास गर्दै आएका गैरआवासीय नेपाली व्यवसायी, उद्यमीमार्फतको लगानी ल्याउने कम्पनीमा कार्यकारी अध्यक्ष मदनकुमार उप्रेतीले बताए । उनले यो कम्पनीले नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

पीस इनर्जीमा टेस्ला हाइड्रोको ७५ प्रतिशत सेयर स्वामित्व छ । उप्रेतीले टेस्ला हाइड्रोमार्फत यो आयोजनामा हुने ७८० मिलियन अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानीले ऊर्जाको दिगो विकासमा महत्त्वूर्ण भूमिका खेल्ने बताए ।

‘हामीले जलविद्युत आयोजनामा लगानी गर्दा स्थानीय स्तरमा रोजगारीको अवसर सृजना हुनुका साथै स्वच्छ नवीकरणीय ऊर्जा उत्पादनले बढ्दो कार्बन उत्सर्जन न्यूनिकरण गरी नेपालको आर्थिक विकासमा पनि पुग्नेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।

आयोजना निर्माण गर्न इन्फ्राप्रो कन्स्ट्रक्सन प्रालिलाई सिभिल संरचना निर्माणको ठेक्का दिइएको छ । आयोजनामा अहिले आवासगृह, पहुँच सडक तथा विद्युत पहुँच पुर्याउने पूर्व तयारीको काम सम्पन्न भइसकेको छ । आयोजना अबको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

Facebook Comments

Read Previous

दरवाङ उपल्लो बजारको सडक कालोपत्र

Read Next

एमसीसी अनुदानकाे न्यू बुटवल सबस्टेसन निर्माणकाे जिम्मा लिंकसन इण्डियालाई,३९ महिनामा सम्पन्न गर्ने तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar