Nepal Purbadhar

सानिमा समूहले लगानी गरेकाे मध्यतमोरबाट परीक्षण विद्युत उत्पादन सुरु


काठमाडाैं । सानिमा समूहले लगानी गरेकाे ७३ मेगावाटकाे मध्यतमाेर जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएकाे छ । सानिमा समूहकाे सहायक सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडले निर्माण गरेकाे याे जलविद्युत आयोजनाबाट शनिबार (बैशाख १ गते) देखि परीक्षण विद्युत उत्पादन सुरु भएकाे हाे ।

उत्पादन गरेकाे विद्युत २२० केभी काेसी काेरिडाेरकाे ढुंगेसाँघु-बसन्तपुर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे आयोजना प्रबन्धक मणिराज पाेखरेलले बताए । उनका अनुसार आयोजनाले उत्पादन गरेकाे विद्युत काेसी काेरिडाेरकाे बसन्तपुर सबस्टेसनमा जाेडिएकाे छ ।

उनले २ सातासम्म परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यापारिकरुपमा विद्युत उत्पादन सुरु गरिने पनि बताए । अहिले आयोजनाकाे एउटा युनिटबाट मात्रै विद्युत उत्पादन भइरहेकाे र केही दिनमा ४ वटै युनिट सञ्चालन गर्ने तयारी भइरहेकाे उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणकाे प्राविधिक टाेलीले परीक्षण गरेपछि आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडिएकाे हाे । आयोजनाबाट परीक्षण विद्युत उत्पादनकाे शुभारम्भ गर्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,प्राधिकरणकाे प्राविधिक टाेली, हाँस्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलगायत ताप्लेजुङ पुगेका थिए ।

विद्युत उत्पादनकाे शुभारम्भ गर्न आयोजना स्थल पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मध्यतमाेर प्रणालीमा जाेडिएसँगै जडित क्षमता ३ हजार ३ सय मेगावाट पुगेकाे बताए ।

‘‘मध्यतमाेर प्रसारण प्रणालीमा आउँदा हाम्राे आन्तरिक विद्युत उत्पादन त बढ्याे नै, साथसाथै प्रसारण प्रणालीस्थिर राख्न पनि याेगदान पुग्नेछ’’, उनले भने । देशको अर्थतन्त्रको मेरुदण्ड नै जलविद्युत भएकाे बताउँदै उनले याे क्षेत्रमा निजी क्षेत्रकाे लगानी प्राेत्साहन गर्न सबैकाे सहयोग गर्नुपर्नेमा जोड दिए ।

याे आयोजनाले सुक्खा याममा पनि २५ देखि ३० मेगावाटसम्म विद्युत उत्पादन गर्ने प्रवर्द्धक कम्पनीले जनाएकाे छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी ३.४०० किलाेमिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युतगृहमा तमाेर नदीकाे पानी खसाली विद्युत उत्पादन गरिएकाे छ ।

मध्यतमाेर सानिमा समूहले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाे छैटाैं जलविद्युत आयोजना हाे । यसअघि सानिमा समूहले सिन्धुपाल्चोकमा २.६ मेगावाटको सुनकोसी साना, इलामकाे माई खाेलामा २२ मेगावाटको सानिमा माई, ७ मेगावाटको सानिमा माई क्यासकेड, रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङ र रामेछापमा २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनाकाे सफल निर्माण गरी प्रसारण प्रणालीमा जाेडिसकेकाे छ ।


Read Previous

दैलेखकाे महाबु गाउँपालिकाका ३ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

Read Next

इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु