Nepal Purbadhar

अनुमति लिएर अघि बढेका आयोजना खारेज गर्न मुद्दा पर्नुले निजी क्षेत्रलाई समस्यामा पारेकाे छः अध्यक्ष कार्की


काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)  का अध्यक्ष गणेश कार्कीले सरकारले आयोजना स्वीकृत दिने, तर अर्को सरकारी निकायले आयोजना खारेज गर्दा जलविद्युतको विकास हुन नसक्ने बताएका छन् । सोमबार इपानले राजधानीमा आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालिन महत्त्व विषययक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएका हुन् ।

अध्यक्ष कार्कीले जलविद्युत  विकासको लागि विद्युत उत्पादन प्रक्रियामा प्रवर्द्धकले कराेडाैं रुपैयाँ खर्च गरिसकेपछि राष्ट्रिय निकुञ्जले जलविद्युत आयोजना बनाउन नपाउने भन्दा लगानीकर्ता पलायन हुने अवस्था आएकाे बताए । उनले प्रवर्द्धकले जलविद्युत आयाेजना निर्माणका लागि पहुँच सडक निर्माण गरेर जग्गा खरिद गरिसकेपछिकाे अवस्थामा विविध कारण देखाएर काम राेकिँदा लगानीकर्ता मर्कामा परेकाे बताए ।

‘राज्यको नीतिका कारण जलविद्युत व्यवासायीहरू पनि अहिले सहकारीका सञ्चालक भागे जस्तै भाग्ने अवस्था आउन लागेकाे छ, ’ उनले भने, ‘ ऊर्जा जलस्राेत तथा सिँचाइ  मन्त्रालय र  विद्युत विकास विभागबाट आयाेजना अगाडि बढाउन भनिन्छ । तर, वन तथा वातावरणका निकायमा पुग्दा देखिने बाधाअड्चनले निर्माणमा बाधा व्यवधान खडा गरिरहेकाे छ ।’

उनले जलविद्युत विकासको लागि ऊर्जा मन्त्रालय बलियो हुन आवश्यक रहेको पनि बताए । अध्यक्ष कार्कीले निजी क्षेत्र सरकारले लिएको जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न तयार रहेकाे बताए । निजी क्षेत्रले सहयोग गर्नको लागि राज्यले नीतिगत सुधार गर्नु आवश्यक रहेकोमा उनले जाेड दिए ।

‘अनुमतिपत्र लिएर काम अगाडि बढाएका आयाेजनामा प्रवर्द्धककाे ठूलाे पुँजी खर्च भइसकेकाे हुन्छ । बिचमा पुगेपछि राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने आयाेजनाकाे काम राेक्नु भन्ने निर्देशन आउँछ । यस्ताे अवस्थामा लगानीकर्तालाई कस्तो पीडा हून्छ होला ?’,उनले भने ।

जलविद्युत व्यवसायीहरूले आयाेजनामा आफ्नाे पुँजी मात्रै  लगानी गरेकाे नहुने हुँदा बिचैमा निर्माण प्रक्रिया राेकिँदा लगानी समस्यामा पर्ने गरेकाले त्यसकाे विरुद्ध  अदालतकाे ढाेका ढक्ढक्याउन जानु पर्ने अवस्था आएको कार्कीले बताए ।

सरकारकाे साढे २८ हजार मेगावाट विद्युत उत्पादनकाे लक्ष्य पूरा गर्न निजी क्षेत्र तयार रहेकाे बताउँदै कार्कीले राज्यले त्यसका लागि नीतिगत सुधार गरिदिनुपर्नेमा जाेड दिए । विभिन्न कारणले जलविद्युत प्रवर्द्धकलाई वनको कारण पक्राउ पुर्जी आउन थालेको कार्कीले दुखेसाे पाेखे ।

उनले जलविद्युत प्रवर्द्धकलाई अपराधी सरह हेर्न थालिएकाले  प्रहरीले पक्राउ नगराेस् भन्नका लागि अदालतकाे स्टे अडर लिएर बस्नु परिरहेकाे बताए । उनले जलविद्युत प्रवर्द्धकलाई वनको कारण पक्राउ पुर्जी आउन थालेकाले पनि व्यवसायीको मनोबल कमजोर भएको बताए ।


Read Previous

सरकार जलविद्युत क्षेत्रकाे विकासका लागि लगानीमैत्री वातावरण बनाउन सधैं सकारात्मक छः ऊर्जामन्त्री बस्नेत

Read Next

ऊर्जा नेपालको अनुदान सहयोगमा निजी क्षेत्रले निर्माण गरेका २३ इभी चार्जिङ स्टेसन सञ्चालन