चितवन। भरतपुर विमानस्थल विस्तारको प्रकृया अघि बढ्ने भएको छ । विमानस्थल नजिकैकाे नेपाली सेनाकाे घाेडा प्रजजन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरी धावनमार्ग विस्तार गर्न साेमबारबाट अध्ययन सुरु गर्न लागिएकाे हो ।
विमानस्थलकाे धावनमार्ग विस्तारका लागि सर्वेक्षण अध्ययन गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने भरतपुर विमानस्थल प्रमुख दीपक विकले बताए । उनका अनुसार गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरुप काम सुरु हुन लागेको हो ।
आइतबार नै अध्ययन गर्ने प्राविधिक टाेली चितवन आइपुग्दैछ ।“सोमबारदेखि काम अघि बढाउँदैछौं । एक साताभित्र सर्वेक्षण अध्ययनकाे काम सम्पन्न हुनेछ ।” बैठकले विमानस्थल विस्तार र घोडा प्रजन्नन केन्द्र शक्तिखोरमा स्थान्तरण एक साथ अगाडि बढाउने सहमति गरेको हो । सर्वेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ ।
यस्तै, समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ । गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहार्ने छ ।
विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र लगायत संरचना छन् । कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर-पश्चिमतर्फ ४१२ मिटर बिस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १ हजार ५ सय मिटरको बनाउनुपर्नेछ ।
ठूला जहाजसमेत चल्ने गरी विमानस्थल बिस्तार हुनेछ । हाल विमानस्थलको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालिन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाईइन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ । प्रमुख दाहालले सबै तिरबाट एकसाथ काम अघि बढ्ने भएकाले बिमानस्थल बिस्तार छिट्टै हुनेमा विश्वास व्यक्त गरे ।