Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

लगानीमा जोखिम व्यवस्थापन


राधेश पन्त

कुनै पनि देशको विकासका लागि पूर्वाधार निर्माण अपरिहार्य हुन्छ । नेपाल जस्तो देशका लागि त ठूलो परिमाणमा लगानी र जनशक्तिको आवश्यकता अरू क्षेत्रमा पनि हुन्छ । परियोजना तर्जुमा र कार्यान्वयनमा व्यवस्थापकीय दक्षताको पनि उत्तिकै आवश्यकता हुन्छ । यी कुरामा समन्वय नहुँदा नेपालको पूर्वाधार क्षेत्र सोचे अनुसार विकास हुन सकेको छैन । यसै कारण देशमा आर्थिक गतिविधि विस्तार हुन नसकी रोजगारी सिर्जनासमेत नहुँदा नेपालको युवा जनशक्ति विदेश पलायन पनि बढेको छ । तथापि विदेशिएको जनशक्तिले पठाएको विप्रषणले अर्थतन्त्रलाई भरथेग त गरेको छ तर विप्रेषणमा आएको विदेशी रकम पुँजीका रुपमा नभई उपभोगमा सीमित हुँदा समुचित प्रतिफल प्राप्त हुन सकेको छैन ।

ठूला पूर्वाधार आयोजना आन्तरिक लगानीले मात्र सम्भव हुँदैन; विदेशी लगानी अपरिहार्य हुन्छ । सीमित आन्तरिक र बाह्य लगानीका पनि ठूला पूर्वाधार आयोजना निर्माण गरेर देखाउन सकिएको छैन । निर्माण सकिएका आयोजना विरलै छन् । विनातयारी र भविष्यमा आइपर्ने जोखिमको मूल्याङ्कन नै नगरी निर्माण गरिएका आयोजनाको दिगोपनामा प्रश्न देखिएको छ । अहिले सुरु भएका आयोजना समस्यामा रुमलिएका छन् । लगानी ठूलो भएर पनि ससाना समस्याले निर्माणले गति लिन सकेको छैन ।

जलविद्युत् होस् वा सडक पूर्वाधार सबै क्षेत्रका आयोजना समस्याग्रस्त छन् । यस्ता आयोजनामा गरिएको लगानीको महङ्खव बुझेर जिम्मेवार निकायले छिटो समस्याको समाधान गर्नेतर्फ ध्यान दिनुको विकल्प छैन । खर्बौं लगानी भएका अरुण तेस्रो जलविद्युत् आयोजना, काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माणमा अझै मुआब्जाको समस्या छ । यी आयोजना सम्पन्न हुँदा मुलुकको अर्थतन्त्र चलायनमान बनाउने छ ।

ठूला पूर्वाधार आयोजनाको योजना र रणनीति दीर्घकालको हुन्छ । एक त आयोजनाको अध्ययन गरेर प्रस्तावना तयार गर्न र आयोजना सम्पन्न गर्न समय लाग्छ । कुनै पनि पूर्वाधार बनेपछि त्यसको फाइदा आसपासको क्षेत्रलाई नै हुने हो । मुलुकले पनि त्यही अनुसार आर्थिक लाभ लिन्छ । हाम्रा पूर्वाधार योजना अनुसार नै बनाइदैन् जसले गर्दा ती आयोजनाबाट जनताले समयमै प्रतिफल लिन सकेका छैनन् ।

कमजोर कार्यसम्पादनले पूर्वाधार निर्माणमा असर पार्छ । असोजसम्म सरकारको तिर्न बाँकी सार्वजनिक ऋण साढे २३ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । पुँजीगत खर्च गर्न सकिएको छैन । सरकार चलाउनमै बढी खर्च छ । सबैभन्दा बढी खर्च प्रदेशमा छ । आवश्यक नै नभएका भवन निर्माण र गाडी खरिदमा अनावश्यक खर्च गरिएको छ । उत्पादनमुलक क्षेत्रमा खर्च भएको छैन । पूर्वाधार निर्माणका लागि राजनीतिक स्थिरता अनिवार्य हुन्छ, तर स्थायी सरकार नहुँदा समस्या भएको छ ।
जलविद्युत्, ठूला सडक पूर्वाधार दीर्घकालीन योजना हुन् भनेर सोच्न जरुरी छ । एउटा ठूलो जलविद्युत् आयोजना बनाउन १५ वर्षभन्दा बढी लाग्छ । लगानी जुटाउन त्यत्तिकै गारो छ । अहिलेको अवस्थामा यस्तो क्षेत्रमा बाहिरबाट कसरी लगानी नै ल्याउने हो । सरकारले लगानीको वातावरण बनाउनुपर्छ ।

समस्या सुरु भएका ठूला आयोजना सम्पन्न हुने हो भने नेपालले राम्रै प्रतिफल पाउँछ । उदाहरण हो, द्रुतमार्ग (फास्ट ट्र्याक) । यो आयोजना सम्पन्न हुन सके मुलुकले आर्थिक समृद्धिमा फड्को मार्ने छ । तर यो आयोजना सुरु हुन नदिन अनेकौँ राजनिति गरियो । भारतलाई दिने कुरा भए । भारतलाई दिन सकेको भए आयोजना सस्तोमा बन्ने थियो । अहिले लागत बढाइएको छ । संसोधन गरेर २ खर्ब ११ अर्ब रुपैयाँ पु¥याइएको छ । निर्माण सम्पन्न हुँदासम्म लागत ३ खर्ब रुपैयाँ पुग्ने छ । विनायोजना काम गर्दा लागत बढेको हो । यस्तो समस्या अन्य आयोजनामा पनि छ ।

ठूला आयोजना सरकारले मात्रै बनाउनु पर्छ भन्ने छैन; निजी क्षेत्रको साथ लिनु पर्छ । सार्वजनिक निजी साझेदारी (पिपिपी) मा ठूला आयोजना निर्माण गर्न सकिन्छ । लगानीकर्ताले जोखिम मोलेर आयोजना ल्याएको हुन्छ । त्यसको सहज निर्माणको वातावरण सरकारले बनाइदिनु पर्छ । निर्माणको ठेक्का लिइसकेपछि ठेक्का सम्झौता गर्दा तयार भएका कानुन परिवर्तन गर्नु हुँदैन ।

निजी क्षेत्रले लगानी, प्राविधिक तथा भौगोलिक जोखिम बहन र गुणस्तर सुनिश्चित गर्दछ भने अनुगमन गर्ने जिम्मा सरकारको हो । तर कर्मचारीतन्त्र उत्तरदायी छैन । मन्त्रालयको आयोजना भए पनि त्यसमा ऊ उत्तरदायी बन्दैन । उनीहरुको भनाइ यसले कामै गरेन, भने अनुसार काम भएन भन्ने मात्र हुन्छ । कर्मचारी आफु चोखिन तथ्यहीन गफ लगाउँछन् । त्यसैले जोखिमको बाँडफाँड हुनुपर्छ; निर्माणमा हुने जोखिम कुनै न कुनै पक्षले लिनैपर्छ । त्यसपछि मात्र बैंक तथा वित्तीय संस्थाहरु लगानी गर्न तयार हुन्छन् । ठूला पूर्वाधार आयोजनामा धेरै लागत लाग्छ तर बजेट कम राखिन्छ । फेरि पुँजीगत खर्च एकदमै कम हुनेगर्छ ।

आयोजनाको मोडलमा पनि समस्या छ । ठूला सडक पूर्वाधार गुणस्तरयुक्त बनाउने हो भने पिपिपी जान सकिन्छ । फास्ट ट्र्याकमा पिपिपी मोडलमा गएको भए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्ने थियो । जसले मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने थियो । यसले भारतसँगको व्यापार सहज बनाउने थियो ।

अर्को समस्या प्राथमिकताको हो । अहिले सडक पूर्वाधार वडा अध्यक्ष, मेयर÷उपमेयर र सांसदको घरघर पु¥याइएको छ । त्यस्तैमा मात्र बजेट बग्ने गरेको छ । यस्ता पूर्वाधार हचुवाका भरमा बनाइएका छन् । डोजरको भरमा विकास गरिएको छ । त्यहाँ न प्राविधिक हुन्छन्, न कुनै विज्ञ कर्मचारी नै । यस्ता पूर्वाधार निर्माणले प्रतिफल दिँदैन बरु बाढी पहिरोको जोखिम निम्त्याएको छ ।

पूर्वाधार निर्माणमा सरकारको ध्यान गएकै छैन । उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई दिन सकिन्छ । यो बनाउन धेरै समय लाग्यो । यसले सरकारको क्षमतामा ठूलो समस्या छ भन्ने देखायो । अहिले सानो काम लिएर वन, प्रशासन जाँदाजाँदै थाकिन्छ । स्थायी प्रकृतिको सरकार नबन्दा निजी क्षेत्र लगानी गर्न तयार हुने गरेको छैन । अर्को सरकार आएर बजेटमा फेरि केही परिवर्तन गर्छ कि भन्ने डर हुन्छ । ठूला पूर्वाधार समयमै नसकिनुको एउटा जिम्मेवार निकाय सरकार हो । सरकारको कार्यसम्पादन पूर्वाधार निर्माणमा कमजोर देखिने गरेको छ ।

सरकारले भविष्यमा आइपर्ने जोखिमलाई नहेरी आयोजना तर्जुमा गर्ने गरेको छ । जलवायु परिवर्तनले नदीनाला सुक्दै गएका छन् । विशेष गरी जलविद्युत् आयोजनाको अवस्था ५० वर्षपछि के हुन्छ भन्ने जोखिम छ । त्यो बेलासम्म नयाँनयाँ प्रविधि आइसकेको हुन्छ । आयोजनाको विकास गर्ने काम सरकारको हो । अध्ययनदेखि सबै तयारी पुरा गरेर निर्माण गर्न योग्य बनाएर निजी क्षेत्रलाई आह्वान गर्नुपर्नेमा आयोजनाको अध्ययन र तयारी नै नगरी निजी क्षेत्रलाई जिम्मा लगाउने चलन छ । राष्ट्रिय योजना आयोगले प्रधानमन्त्री, मन्त्रीले कतै देखेका आधारमा आयोजनालाई निर्माण गर्ने भनेर योजनामा राख्ने गरेको छ । आयोजनामा के के गल्ती भए भनेर गम्भीर बनेर लाग्ने हो भने अन्य आयोजनामा ती गल्ती दोहोरिँदैनन् ।

पूर्वाधार निर्माणमा देखिएका मुख्य समस्या
– मुआब्जा र वनको समस्या
– बजेट अभाव
– पूर्वतयारी नहुनु
– अध्ययनविना नै ठेक्का लगाइनु
– ठेक्का लिएर काम नगर्नु
– ठूला पूर्वाधारको सट्टा अनावश्यक क्षेत्रमा बढी लगानी गर्नु
– निर्माणमा निजी क्षेत्रलाई वेवास्ता गर्नु
– पिपिपी मोडलमा काम गर्न नसक्नु
– स्वार्थ बाझिने गरी ठेक्का गर्नु
– समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्नु ।

सङ्कटमोचनका उपाय

कुनै पनि ठूलो आयोजनामा लगानी गरेको १५ वर्षपछि मात्र प्रतिफल आउन थाल्छ । हाम्रोमा लगानी गर्न आएका लगानीकर्तालाई समेत फर्काउने गरिएको छ । हाम्रो समाज धेरै नकारात्मक छ । कसैले राम्रो गरेको देखी सहँदैनौँ । तथ्यमा जाँदैनौँ; गफैमा भुल्ने प्रवृत्ति छ । जहाँजहाँ सडक जान्छ त्यहाँ बजार खुल्छ । कृषि उत्पादनले सहजै बजार पाउँछ । होटल, रेस्टुरेन्ट थपिन्छन् । ती क्रमशः ठाउँ सहर बन्छन् र आर्थिक गतिविधि बढ्छ । पूर्वाधारले यसरी आर्थिक पाटोलाई जोड्छ ।

सडक बनेपछि त्यहाँ आयोजना निर्माणमा आर्थिक रुपमा स्वार्थ बाझिने काम पनि हुने गरेका छन् । यस्तो विशेषगरी बजेटमा हुने गरेको छ । कुनै एक व्यवसायीको चाहनामा बजेटको बुँदा नै परिवर्तन हुने गरेको छ । कुन व्यवसायीको चाहनामा र फाइदाका लागि कुन बुँदा कहाँ कसरी राखियो वा कसरी परिवर्तन भयो भन्ने बुँदा हेर्नसाथ थाहा हुन्छ ।

ठूला आयोजनामा अर्बौं, खर्बौं लगानी हुन्छ । आयोजनाको विकास गर्ने काम सरकारको हो । तर अध्ययन अनुसन्धान गरेर निर्माण गरिएको आयोजना कमै छन् । कतिपय ठाउँमा राम्रो तयारी नगर्दा सुरु गरेका आयोजनामा समस्या छ । मेलम्ची खानेपानी आयोजना, फास्ट ट्र्याक निर्माणका क्रममा भइरहेको डिपिआर परिवर्तन त्यसका उदाहरण हुन् ।

ठूला आयोजनामा धेरै खर्च भइसक्यो तर आयोजना अझै बनेन भनेर बस्न हुँदैन । त्यसलाई टुङ्ग्याउनेतर्फ लाग्नुपर्छ । अरूण तेस्रोमा जग्गाको समस्या आएकाले त्यसलाई समाधान गर्न जरुरी छ । यस्ता आयोजनामा समस्या आउनसाथ प्रधानमन्त्री आफैंले सम्बन्धित निकायलाई बोलाएर समाधान गर्नतिर लाग्नु पर्छ । जति ढिला ग¥यो त्यति आयोजना सम्पन्न हुन त्यतिकै समय लाग्छ र लागत बढ्छ । त्यसैले चालु ठूला आयोजनामा के के समस्या छन् ? किन ढिलो भइरहेको छ ? भन्ने मिहिन ढङ्गले केलाएर अघि बढ्नु पर्छ । त्यस्ता आयोजनामा बजेटको समस्या हुन हुँदैन । छिटो सम्पन्न गर्न त्यही अनुसारको बजेट व्यवस्थापन भने गर्नुपर्छ ।

हरेक आयोजनाबारे महिनाको प्रत्येक साता एक घण्टा समय निकालेर छलफल गर्नुपर्छ । बेलाबेलामा लगानी सम्मेलनको आयोजना गरेर ठूला पूर्वाधार निर्माणमा लगानी भित्र्याउनु आवश्यक छ । मुख्य दलका शीर्ष नेताहरु प्रायः राजनिति टुङ्गोमा पुगेपछि मुलुकको विकास गर्ने हो भन्छन् । तर नेपालको राजनिति कहिल्यै पनि टुङ्गोमा पुग्दैन । विकास गरेर जनताको मन जित्ने हो भने टुङ्गो लाग्ला, तर विकास नै नगरी राजनीति गरेर कसरी टुङ्गो लाग्छ ?

निर्माण व्यवसायीका कारण ठूला आयोजना वर्षौं अल्झिइरहेका छन् । काममा मनपरी र लापरबाही गर्नेलाई सरकारले न कारबाही गर्न सक्छ न लाइसेन्स नै रद्द गर्न सक्छ । कतिपय निर्माण व्यवसायी सरकारसँग जोडिएका छन् । उनीहरुले राजनितिक दलका नेताहरुसँग पनि काम गरीरहेका हुन्छन् । कति त पार्टीकै नेता ठेकेदार छन् । यस्तो अवस्था रहिरहँदा ठूला आयोजना समयमै सम्पन्न हुँदैनन् । त्यसैले अनुगमन हरेक क्षेत्रमा हुनु पर्छ । खर्बौँका आयोजना निर्माणका लागि सम्झौता हुन्छ तर ती कसरी बनिरहेका छन् ? अवस्था के छ भनेर ठेक्का व्यवस्थापनको पाटो मात्र हेर्ने छुट्टै निकाय छैन । ठेक्का व्यवस्थापन गर्ने र त्यसको अनुगमन गर्ने बेग्लै निकाय खडा गरेर काम गर्नु पर्छ । काम नगरे ठेक्का तोडेर कारबाही गर्न सक्नुपर्छ ।

पूर्वाधार निर्माणमा वातावरण महङ्खवपूर्ण हुन्छ । त्यसैले हरियालीयुक्त पूर्वाधार निर्माणको आवश्यकता छ । सबैको पहुँच र सुविधाका शिक्षा, स्वास्थ्य, यातायात पूर्वाधार बनाउने व्यवस्था गर्नुपर्छ । सरकार आफैंले मात्र लगानी गर्न खोजेर पनि यी क्षेत्रका पूर्वाधार निर्माणमा धेरै समस्या आउने गरेका छन् । त्यसैले यस्तो कार्यमा निजी क्षेत्रलाई साथै लग्न सक्नुपर्छ । पूर्वाधारमा लगानीकर्तालाई ‘वान विन्डो’ सेवा उपलब्ध गराउनु पर्छ; सरकार र निजी क्षेत्रको हातेमालो हुनुपर्छ ।

कुनै नीतिगत कुराले समस्या पारे छिटो मन्त्रिपरिषद्बाट निर्णय गराएर छिटो समाधान खोज्नु पर्छ । दीर्घकालमा लगानीका निम्ति दीर्घकालीन पुँजी चाहिन्छ । यसमा पूर्वाधार बैंकहरुले लगानीको काम गर्न सक्छन् । त्यस्ता बैंकको संख्या बढाउनु पर्छ । दातृ निकायबाट आउने अनुदानको रकममा गुणस्तरीय काम कम हुने गरेको छ । यस्ता अनुदानमा भ्रष्टाचारको जोखिम बढी हुन्छ ।

दातृ निकायले दिने ऋणमा काम गर्दा पछि तिर्नुपर्ने दायित्व हुन्छ । त्यसैले छिटो काम हुने र भ्रष्टाचारको सम्भावना कम हुन्छ । बाह्य लगानीकर्तालाई प्रोत्साहन गर्न ठूला पूर्वाधार पनि नेपालमा बन्दा रहेछन् भनेर देखाउने गरी काम गर्नुपर्छ । आयोजना सुरु भएको देखेका नेपाली जनताले आयोजना पुरा भएर त्यसले पारेको सकरात्मक प्रभाव देख्ने गरी काम हुनुपर्छ । आयोजनाको अध्ययन वर्तमानलाई मात्र नहेरी भविष्यमा के हुनसक्छ र त्यसका लागि कसरी पूर्वाधार निर्माण गर्दा उपयुक्त हुन्छ भनेर गर्नुपर्छ । सरकारले कुन आयोजना निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिने र कुन आयोजना आफैले गर्ने भनेर छुट्याउन जरुरी छ । समुदाय र ठाउँलाई आर्थिक रुपमा चलायमान बनाउन सहयोगी आयोजना हुनुपर्छ । नेपालको नक्सा नै राखेर कुन आयोजना पहिला कता बनाउने भनेर ठाउँ नै तोकेर काम गर्नुपर्छ । ठाउँ र क्षेत्र छानेर प्राथमिकता तोक्दै काम गर्नुपर्छ ।

– पन्त लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । याे लेख नेपाल आर्थिक पत्रकार समाज (सेजन) काे  प्रकाशन ‘अर्थनीति सेजन म्यागेजिन २०८०’ बाट साभार गरिएकाे हाे ।


Read Previous

एघार महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

Read Next

एक हजार ४ सय योजना कार्यान्वयनकाे तयारीमा गण्डकी प्रदेश

Leave a Reply

Your email address will not be published.