Nepal Purbadhar

दाना खोला आयोजनाको पिपिएमा हस्ताक्षर,फागुनदेखि निर्माण थालिने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मनाङमा निर्माण हुन ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको प्रवर्द्धकसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेडबीच गत मंगलबार पिपिएमा हस्ताक्षर भएको हो ।

पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा प्रवर्द्धक कम्पनीकोतर्फबाट अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गरेका हुन् । पिपिए अनुसार प्रवर्द्धक कम्पनीले निर्माण गर्ने आयोजनाले उत्पादन गर्ने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा प्राधिकरणले खरिद गर्नेछ ।

प्रवर्द्धक कम्पनीले विद्युत उत्पादन सुरु गरेपछिको ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले अहिले पिपिए भएको दरमा मूल्यवृद्धि पाउनेछ । २०८४ साल कात्तिक २ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका पिपिएमा राखिएको कम्पनीका अध्यक्ष डाँगीले बताए ।

बैंक तथा वित्तीय संस्थासँग ऋण लगानी सम्झौता सम्पन्न गरेपछि आयोजनाको भौतिक संरचना निर्माणको काम सुरु गरिने उनले बताए । उनका अनुसार अबकाे २ महिनाभित्रमा वित्तीय व्यवस्थापनकाे टुंगाे लगाइ बैंक तथा वित्तीय संस्थासँग ऋण लगानी सम्झाैता गर्ने याेजना छ ।

अहिले आयोजना स्थलमा पुग्ने पहुँच सडक तथा आवासगृह निर्माणको काम भइरहेको र वित्तीय व्यवस्थापन सम्झाैतापछि ठेकेदार नियुक्त गरी आगामी फागुनदेखि आयोजनाकाे संरचना निर्माणकाे काम सुरु गर्ने बताए ।

आयोजना निर्माण सम्पन्न गर्न ९ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको निर्माण ऋण र स्वपुँजी लगानीबाट हुनेछ ।

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत निर्माणाधीन २२० केभी मर्स्याङ्दी काेरिडाेर प्रसारण लाइनकाे धारापानी सबस्टेसनमा जोड्ने प्रसारण सम्झौता प्राधिकरणसँग भएको छ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

आयोजना सञ्चालनमा आउँदा वार्षिक ३०२.२७ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना निर्माण गर्न गत बैशाख २१ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएको थियो ।


Read Previous

अर्थ मन्त्रालय र एडिबीबीच १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता   

Read Next

अदालतमा मुद्दा परेपछि ७ वर्षदेखि २ जिल्ला जाेड्ने सडककाे निर्माण अलपत्र