
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । काठमाडौँमा ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भने, “दुई दशकयता सूचना प्रविधि क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरे पनि त्यसैमा सन्तोष मानेर हामी बस्नु हुन्न । हामीले यो क्षेत्रलाई थप उचाइमा पुर्याउन आवश्यक छ ।”
मुलुकमा सूचना तथा प्रविधि शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याइरहेकोमा फाउन्डेसनको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाललाई चाहिने जनशक्ति उत्पादनमा यो संस्था थप प्रतिबद्ध भई सक्रिय रहने विश्वास लिएको पनि उनले बताए । फाउन्डेसनले चार वर्षयता सातै प्रदेशमा एक/एकजना महिलालाई निःशुल्क शिक्षा उपलब्ध गराएर शिक्षाका माध्यमबाट थोरै भए पनि महिलाको सशक्तीकरणमा योगदान पुर्याएकोमा उनले खुसी व्यक्त गरे ।
“नेपालमा सूचना प्रविधिको विकाससँगै यस क्षेत्रमा नीतिगत तथा कानूनी आधारशिलाहरू तयार भइसकेका छन । यसको एउटा प्रमाण ‘नया“ पुस्ता प्रविधिमैत्री’ हुनु पनि हो”, उपराष्ट्रपति यादवले भने, “प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ । भरपर्दो र गुणस्तरीय शिक्षामार्फत सेवा क्षेत्रमा दक्ष जनशक्तिसहितको रोजगारी उपलब्ध गराउन सके मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ ।
यो क्षेत्रमा थप विस्तारका लागि थप वातावरण तयार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्दछ ।” पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै स्वदेशमै भविष्य नदेखेर पलायन हुनुपर्ने बाध्यता टार्न व्यावहारिक, सीपमूलक र जीवनोपयोगी शिक्षा हाम्रो आवश्यकता भएकोमा उनले जोड दिएका छन् ।
 
								 नेपाल पूर्वाधार
                        नेपाल पूर्वाधार         
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    








