काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ४ जलविद्युत आयोजनामा १३ अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेको छ । एचआइडिसिएलले सानिमा हाइड्रोसमूहका २ सहित ४८९ मेगावाटका आयोजनामा यति ऋण लगानी स्वीकृत गरी लगानी प्रतिबद्धता जनाएको हो ।
एचआइडिसिएलले शुक्रबार राजधानीमा विशेष कार्यक्रम गरी आयोजनाका प्रबद्र्धक कम्पनीहरूलाई ऋण लगानी स्वीकृतिको पत्र हस्तान्तरण गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सञ्जिव देवले सबै आयोजनाका प्रवद्र्धकलाई ऋण लगानी स्वीकृतिको पत्र हस्तान्तरण गरे ।
एचआइडिसिएलले सानिमा हाइड्रो समूहले सहायक कम्पनीहरूमार्फत निर्माण सुरु गर्न लागेको २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजनाको ऋण स्वीकृत गरी लगानी गर्ने प्रतिबद्धता जनाएको छ । ताप्लेजुङको तमोर नदीमा संरचना रहने यो आयोजना तमोर सानिमा इनर्जी कम्पनीले अगाडि बढाउँदैछ । एचआइडिसिएलले यो आयोजना निर्माणका लागि ४ अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेको पत्र प्रवद्र्धक कम्पनीलाई दिएको छ ।
आगामी असोजसम्ममा वित्तीय व्यवस्थापन सम्झौता गरी निर्माण सुरु गर्ने योजना रहेको कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । यो आयोजना निर्माण सम्पन्न गर्न ब्याज बाहेक ४५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ लगात अनुमान गरिएको छ । ब्याजसहितको लगानी ५५ अर्ब १५ करोड रुपैयाँ पुग्ने अनुमान छ । कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी हुनेछ । आयोजनामा एभरेष्ट बैंकले ऋण लगानीका लागि अगुवाई गर्ने तय भएको उनले बताए ।
यो आयोजना निर्माण सम्पन्न हुँदा सुख्खा याममा पनि दैनिक ६ घन्टा पिकिङ दिनेछ । आयोजना सञ्चालनमा आउँदा वार्षिक १४७९.८८ गिगावाट विद्युत उत्पादन गर्न सकिनेछ । यो निजी क्षेत्रले लगानी गरी निर्माण गर्न लागेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना हो ।
यस्तै, सानिमा हाइड्रो समूहकै सहायक सानिमा जुम हाइड्रोपावर कम्पनीले निर्माण गर्ने ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनामा पनि एचआइडिसिएलले लगानी गर्ने प्रतिबद्धता जनाउँदै ऋण स्वीकृतिको पत्र हस्तान्तरण गरेको छ ।
दोलखामा निर्माण हुने यो आयोजनामा एचआइडिसिएलले २ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ । यो आयोजना निर्माणका लागि कूल ११ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा बाँकी ऋण लगानीका लागि नबिल बैंकले अगुवाई गर्ने तय भएको छ ।
यस्तै, डोल्पा जिल्लामा पहिचान भई निर्माणमा जान लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनामा ४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता प्रवद्र्धक जगदुल्ला हाइड्रोपावर कम्पनी र एचआइडिसिएलबीच सम्झौतामा हस्ताक्षर भएको छ । यो आयोजना निर्माण गर्न २४ अर्ब १७ करोड रुपैयाँ कूल लगानी आवश्यक पर्नेमा एचआइडिसिएलले ४ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको हो ।
यो आयोजना निर्माण गर्नका लागि १६ अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी र ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ । यो आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाईमा वित्तीय व्यवस्थापन हुने तय भएको छ ।
स्वपुँजी बाहेकको बाँकी ऋण लगानी अन्य बैंक तथा वित्तीय संस्थाबाट जुटाएर आयोजनाको निर्माण सुरु गर्ने कम्पनीको योजना छ । यो आयोजना २०७५ साल फागुन २७ गते घोषित जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण हुन लागिरहेको छ ।
आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुक्ता गर्ने प्रक्षेपण छ । यही कम्पनी अन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ ।
मोदी जलविद्युत कम्पनीले कास्कीमा निर्माण गर्न लागेको ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा पनि एचआइडिसिएलले ३ अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेको पत्र कम्पनीलाई दिएको छ । यो आयोजना पनि लगानी जुटाएर निर्माणमा जाने चरणमा छ । आयोजना निर्माण गर्न एनएमबी बैंकको अगुवाईमा बाँकी ऋण लगानीको जोहो गर्ने तय भएको छ ।
ऋण स्वीकृत पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले अहिलेसम्म जलविद्युतमा २७ अर्ब रुपैयाँ बढी लगानी भइसकेको बताए । उनले यो लगानीमा ऋण र स्वपुँजी दुवै समेटिएको बताए ।
‘हामीले अहिलेसम्म ३१ जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छौं,’ उनले भने, ‘१९ वटा आयोजनामा गरेको लगानी ऋण हो र १२ वटा आयोजनामा स्वपुँजी लगानी नै गरिएको छ ।’ उनले यो वर्ष मात्रै १६ अर्ब रुपैयाँ बराबरको ऋण लगानी एचआइडिसिएलले स्वीकृत गरेको बताए ।