Nepal Purbadhar

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध


बागलुङ । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो ।

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे खोलामा आएको बाढीले सडक ठप्प बनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताएका छन् । सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङमा सिधा यातायात सञ्चालन हुन नसकेको उनको भनाई छ ।
गत साता कागखोलामा आएको बाढीले गर्दा अवरुद्ध बनेको जोमसोम–कोरला सडक केही दिनमै सञ्चालनमा आएको थियो । आइतबार रातिको बाढीले पुनःअवरुद्ध बनाएपछि जोमसोमदेखि कोरला पुग्ने र उपल्लो मुस्ताङदेखि जोमसोम, पोखरा, काठमाडौँलागायतका स्थानमा जाने सवारीसाधन ठप्प भएको छ ।
सवारी आवागमन अवरुद्ध हुँदा उपल्लो मुस्ताङबाट फर्किने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् । जोमसोमदेखि उपल्लो मुस्ताङ पुग्ने वैकल्पिक सडक भने छैन । खोलामा बाढीको बहाव घट्दै गएको हुँदा आज साँझसम्म सडक खुलाउने प्रयास भइरहेको प्रजिअ केसीले बताए ।

“हिजो राति खहरे खोलामा बाढी आएपछि उपल्लो मुस्ताङसँग सिधा यातायात हुन सकेको छैन, सडक खुलाउनका लागि मेसिन प्रयोग भएका छन्, आज साँझसम्म खुलाउने कोसिसमा छौँ”, केसीले भने । रासस


Read Previous

राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत उपयोग गर्ने ग्राहक ५६ लाख नाघे

Read Next

सुख्खा यामको माग व्यवस्थापन गर्न भारतबाट १९ अर्ब बढीको विद्युत आयात