काठमाडौं । १४ मेगावाटको घारखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । म्याग्दीको घारखोलामा म्याग्दी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत आइतबार (साउन २१ गते) देखि २२०/१३२/३३ केभी दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो ।
सबै चरणको परीक्षण पूरा भएपछि आइतबार अपरान्ह ४ बजेबाट विद्युत उत्पादन सुरु गरिएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । ‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेसँगै हाम्रो आयोजनाको विद्युत प्रणालीमा आएको छ,’ उनले भने, ‘अबको २ सातासम्म परीक्षण उत्पादनको चरण रहन्छ । यो चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गर्नेछौं ।’
आयोजनाको विद्युत दाना सबस्टेसनसम्म पुर्याउन ८ किलोमिटर लामो ३३ केभी डबल सर्किट प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरेको छ ।परीक्षण अवधिमा उत्पादन भएको विद्युत प्राधिकरणले निशुल्क पाउनेछ । विविध कारणले आयोजना लक्ष्यभन्दा केही ढिलो गरी सम्पन्न भएपनि विद्युत उत्पादन सुरु हुनु नै खुशीको क्षण रहेको पनि उनले बताए । उनका अनुसार आयोजनाले अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ ।
सम्पन्न भइसकेको आयोजनाले अब वार्षिकरूपमा ७८.६५ गिगावाट घन्टा विद्युत उत्पादन गरी प्रसारण प्रणालीमा योगदान गर्नेछ ।
आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा विविध कारणले निर्माण अवधि लम्बिएकाले केही बढ्ने हुँदा वास्तविक लागतको हिसाब आइनसकेको कम्पनीले जनाएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले ऋण लगानी गरेका छन् ।
जिल्लाको अन्नपूर्ण गाउँपालिको वडा नम्बर–५ शिख र वडा नम्बर ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । ४५ मिटर लम्बाइका २ वटा बालुवा थिग्राउने पोखरी (डिसेन्डर) निर्माण गरिएको छ ।
डिसेन्डरमा जम्मा भएको पानी विद्युतगृहसम्म पुर्याउन २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल एवं ३ हजार ५ सय मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ । साथै, ४८५ मिटरको पेनस्टक पाइप जडान गरिएको छ । विद्युतगृहमा ७ मेगावाटका २ वटा उत्पादन युनिट जडान गरिएकाे छ ।
आयोजनाको सिभिलतर्फको काम नेपालकै साउथ एसियन इन्फास्टक्चरले सम्पन्न गरेको हो । आयोजनामा वित्तीय लगानी जुटेपछि २०७४ चैतदेखि आयोजनाको संरचना निर्माणको काम सुरु गरिएको थियो ।
पहिलो तालिका अनुसार २०७८ माघदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो । तर, कोभिड–१९ महामारी,लकडाउन, प्राकृतिक विपद्, रसिया–युक्रेन युद्धलगायत विविध कारणले आयोजनाको निर्माण अवधि लम्बिँदा उत्पादन तालिका पनि प्रभावित हुन पुगेको थियो ।