Nepal Purbadhar

ढोरपाटन नगरपालिकाका छ्यान्तुङ र लामखोरिया गाउँमा सोलार बत्तीकाे उज्यालाे


ढोरपाटन । बागलुङकाे ढोरपाटन नगरपालिका–९ छ्यान्तुङ र लामखोरिया गाउँमा साैर्य ऊर्जाकाे स्राेतबाट विद्युत पहुँच पुर्याइएकाे छ । ढोरपाटन नगरपालिकाले राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँचभन्दा टाढा रहेका गाउँमा सोलार बत्ती वितरण गरेपछि छ्यान्तुङ र लामखोरियाका ८० परिवारमा विद्युत पुगेकाे हाे ।

गाउँमा साैर्य बत्ती बाल्न पाएपछि छ्यान्तुङकी ७० वर्षिया थमकुमारी भण्डारी अहिले हर्षित भएकी छन् ।उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन् ।

वर्षौंदेखि अन्धकारमा जीवन बिताउँदै आएकी भण्डारीको घर आजभोलि उज्यालो बनेको छ । “गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि अहिले जताततै उज्यालो भएको छ,” उनले भनिन् ।

विद्युत पहुँच नहुँदा भण्डारीसहित यस गाउँका सयौं नागरिक अन्धकारमा बस्दै आएका थिए । आफ्नो जीवनकाल टुकी र दियालो बालेरै बितेको भन्दै सोलार बत्ती पाएपछि खुसी हुँदै अब अँध्यारो घर उज्यालो हुन थालेको भण्डारीले बताइन् । आफूहरू सहरबजारभन्दा धेरै टाढा हुँदा अहिलेसम्म बिजुली बत्ती पाल्न नपाएको गुनासो पोख्दै सोलार बत्ती मट्टितेल किन्ने खर्च घट्ने र दियालो जम्मा गर्ने झन्झट कम हुने उनले बताइन् ।

“अहिलेसम्म कसैले पनि हामीलाई सहयोग गरेको थिएन, यस्तो अँध्यारोमा बसेको धेरैले देखेका थिए, अब घर उज्यालो हुने भयो, बल्ल सरकार आएको अनुभूति भयो, अँध्यारोमा बस्दा कति कष्ट हुन्छ, पहिलेको जस्ते मट्टितेल पनि अहिले अलि कम पाइन्छ, अब मट्टितेल किन्न र दियालो भाङ जम्मा गरेर महिनौँ बिताउनुपर्ने छैन ,” उनले भनिन् ।

बागलुङको ढोरपाटन–९ छ्यान्तुङ र वडा नं ६ लामखोरियालगायत थुप्रै गाउँका स्थानीय अहिले पनि टुकी र दियालोको भरमा रात बिताउँछन् । भौगोलिक विकटताका कारण यहाँ स्थानीय जलविद्युत् तथा केन्द्रीय लाइनको पहुँच पुग्न सकेको छैन । वर्षौंदेखि अन्धकारमा बस्दै आएका स्थानीयलाई ढोरपाटन नगरपालिकाले सोलार बत्ती वितरण गरेको छ । सोलार बत्ती पाएपछि स्थानीयमा खुसी छाएको छ ।

नगरपालिकाले हालसम्म पनि विद्युत पहुँच नपुगेका दुर्गम गाउँ छ्यान्तुङ र लामखोरियाका ८० परिवारलाई सोलार वितरण गरिएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बताए । नगरप्रमुखको कोषबाट विपन्न परिवारलाई राहतस्वरुप सोलार वितरण गरिएको उनले बताए ।

ढोरपाटन नगरपालिकाको दुर्गम क्षेत्र अझैसम्म पनि विद्युत नभएर अँध्यारोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी सोलार बत्ती वितरण गरिएको कायतको भनाइ छ ।  विद्युतकै कारण सहज सञ्चारको पहुँचबाटसमेत टाढा रहेका स्थानीयको समस्या समाधान गर्न केन्द्रीय प्रसारण लाइन विस्तारको कामसमेत हुन थालेको उनले बताए । विद्युत सेवाबाट टाढा रहेका नगरपालिकाका अन्य दुर्गम ठाउँसमेत विद्युत् पुर्याउने र केही समयभित्र बाँकी रहेका ठाउँमा सोलार बत्ती वितरण गर्ने उनकाे भनाइ छ ।

“अहिले तत्कालको समस्या समाधानका लागि सोलार बत्ती वितरण गर्यौं, अब छिट्टै यो ठाउँमा केन्द्रीय प्रसारण लाइन ल्याउनका लागि पहल गर्छौँ, ढोरपाटनमा केन्द्रीय लाइन ल्याउने काम हुन थालेको छ, त्यहाँ आउनासाथ यी गाउँमा जडान गर्ने छौं ,”नगरप्रमुख कायतले  भने ।

लामखोरियाका स्थानीय राममाया विकले अब आफ्ना बालबालिकाले सोलार बालेर पढ्न पाउने भन्दै खुसी व्यक्त गर्नुभयो । गाउँमा धेरै स्कुले बालबालिका रहेको भन्दै उनीहरूले अहिलेसम्म टुकीकै भरमा पढ्दै आएको विकले बताए । हातमा मोबाइल भए पनि चार्ज गर्नका लागि टाढा जानुपर्ने बाध्यता रहेको उनले हाँले गुनासो पोखे ।

“गाउँभरि स्कुल पढ्ने केटाकेटी छन्, अँध्यारो भयो भने सुतिहाल्छन्, बिजुली नहुँदा पढ्न पाएका छैनन्, नगरपालिकाले सोलार दिएपछि राति पनि पढ्न पाइने भयो भनेर धेरै खुसी भएका छन्, हामीलाई पनि धेरै खुसी लागेको छ”, उनले भने, “गाउँमा बिजुली ल्याउने कुरा चलेको धेरै पहिले हो अहिलेसम्म के भयो थाहा छैन, बिजुली आए त हाम्रो वर्षौंदेखिको मुख्य समस्या समाधान हुने थियो ।”

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले छ्यान्तुङ, लामखोरियालगायत अहिलेसम्म विद्युत पहुँच नपुगेका स्थानमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । आगामी दुई वर्षभित्रसम्म जिल्लाका सबै स्थानमा केन्द्रीय लाइन पुर्याउने गरी काम गरिरहेको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जानकारी दिए । ढोरपाटनमा केन्द्रीय लाइन विस्तारका लागि काम सुरु भइरहेको उनकाे भनाइ छ ।


Read Previous

भवन निर्माण विभागकाे भाैतिक प्रगति ६५ प्रतिशत मात्र, परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

Read Next

एमसीसी अनुदानको प्रसारण लाइनको रातमाटे-दमौली र दमौली-बुटवल खण्डमा अधिग्रहण हुने जग्गाको मुआब्जा दावी पेश गर्न आग्रह