काठमाडाैं । बहुप्रतिक्षित निर्माणाधीन नागढुंगा सुरुङमार्गको काम धमाधम भइरहेको छ । अहिलेसम्म सुरुङमार्ग निर्माणको काम ८९ दशमलव २० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।
सुरुङमार्ग चाडै छेडिने तयारी छ । तर, आयोजनाका अन्य काम बाँकी रहको र सुरुङमार्गको पनि लाइटिङ मिलाउनेलगायत विद्युत जडानलगायतका काम सन् २०२४ भित्र सम्पन्न गर्ने र २०२५ देखि मात्र सर्वसाधारणको लागि प्रयोगमा ल्याउन सकिने आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् ।
आयोजनाको पछिल्लो प्रगति अवस्थाको बारेमा मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा सुरुङमार्गको स्थलगत अवलोकन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए ।
अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।