काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा आवद्ध महिला उद्यमीहरूलाई अमेरिकी सरकारले दिने दुई वटा स्कोलरशिप कार्यक्रमबारे जानकारी दिइएको छ । मंगलबार इपानमा आयोजित छलफल सेसनमा ‘यूएसईएफ नेपाल’ले फुलब्राइट र हमफ्रे स्कोलरशिप प्रोग्रामबारे जानकारी गराएको हो ।
अमेरिकी सरकारको सहयोगमा कम विकसित मुलुकको मानव पूँजी विकासका लागि शुरु गरिएको यो कार्यक्रम नेपालमा यूएईएफले सञ्चालन गर्दै आएको छ । फुलब्राइट स्कोलरशिप पाउनेले २ वर्ष अमेरिकामा अध्ययन गर्न पाउँछन् भने हमफ्रे स्कोलरशिप पाउनेले १० महिना अमेरिकामा बसेर अध्ययन गर्न पाउँछन् ।
दुवै स्कोलरशिपमा सबै खर्च अमेरिकी सरकाले नै ब्यहोर्ने गरेको छ । यूएसईएफ नेपालकी सिनियर प्रोग्राम अफिसर रक्षा महर्जनले दुवै स्कोलरशिपको वारेमा आवेदन प्रक्रिया, आवेदन गर्दा ध्यानदिनुपर्ने कुराहरु,छनौट प्रक्रिया, भिसा प्रक्रिया, यूएसईएफको सहयोग, अमेरिका बसाइ लगायतका विषयमा विस्तृत जानकारी दिएकी थिइन् । फुलब्राइट स्कोलरशिपमा आवेदन दिनका लागि कम्तिमा स्नातक तह उतिर्ण गरेको हुनुपर्छ ।
सैद्धान्तिक विषय (मानविकी तथा सामाजिक विज्ञान संकाय) अध्ययन गरेकाहरुले वार्षिक प्रणाली अन्तर्गत भए कम्तिमा ५४ र सेमेस्टर प्रणालीमा भए कम्तिमा ६५ प्रतिशत अंक ल्याएको हुनुपर्छ । प्राविधिक विषय अध्ययन गरेकाहरुले वार्षिक प्राणलीमा भए कम्तिमा ६२ प्रतिशत र सेमेस्टर प्रणालीमा भए कम्तिमा ७५ प्रतिशत अंक ल्याएको हुनुपर्छ ।
हमफ्रेमा आवेदन दिन भने कम्तिमा स्नातक उतीर्ण गरेर ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने मापदण्ड तोकिएको छ । अहिले दुवै कार्यक्रमको लागि जुलाइ अन्तिमसम्म आवेदन खुला गरिएको पनि यूएसईएफले जानकरी दिएको छ । कार्यक्रममा फुलब्राइट स्कोलरशिप पाएकी ऊर्जा नेपालकी स्वेता धौभडेल र हमफ्रे स्कोलरशिप पाएका शहरी विकास मन्त्रालयका उपसचिव झप्परसिंह विश्वकर्माले नेपालमा स्कोलरशिपमा आवेदन दिएदेखि अमेरिकामा बसेर अध्ययन गर्दासम्मका आफ्ना अनुभव सुनाएका थिए ।
यो स्कोलरशिप पाउनेहरूले अमेरिकाबाट फर्केर आफूले सिकेको ज्ञान र सिपलाई कम्तिमा २ वर्ष नेपालमा बसेर सिकाउनुपर्ने व्यवस्था छ । यो कार्यक्रममा विश्वका १५५ देशबाट वर्षेनी ४ हजार विद्यार्थीले स्कोलरशिप पाउँदै आएकोमा नेपालबाट वर्षेनी फुलब्राइटमा ४ जना र हमफ्रेमा २ देखि ३ जना विद्यार्थी यो कार्यक्रममार्फत अमेरिका गइरहेका छन् ।
कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्की, उपाध्यक्ष रामप्रसाद आचार्य, सचिव कविता पोखरेल, महासचिव बलराम खतिवडा, सदस्यहरू इशा श्रेष्ठ र सुमन जोशी लगायत ऊर्जा क्षेत्रका काम गरिरहेका २५ जनाभन्दा बढीको सहभागिता रहेको थियो । ऊर्जा क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले इप्पानले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको र आगामी दिनमा धेरै जना महिला उद्यमी सहभागी गराउने गरी यूएसईएफसँग थप कार्य्रक्रम गर्ने इप्पानको भनाइ छ ।