Nepal Purbadhar

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो


पाँचथर । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन् । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए ।

‘चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको छु’, मुख्यमन्त्री तामाङले भने, ‘मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु ।’

भारतको केन्द्रीय सरकारसित चिवाभञ्ज्याङमा नाका खोल्न छलफल भएको मुख्यमन्त्री तामाङको भनाइ छ । ‘केन्द्र सरकार यसबारे सकारात्मक छ’, उनले भने । चिवाभञ्ज्याङलाई नाकाको विकास गर्ने उद्देश्यले सिक्किम राज्य सरकारले ५६ करोड भारतीय रुपैयाँ खर्चेर उत्तरे बजारदेखि चिवाभञ्ज्याङसम्म २२ किलोमिटर सडक विस्तार गरेको छ ।

नेपालबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग दशकअघि नै चिवाभञ्ज्याङसम्म पुगिसकेको छ । उक्त राजमार्गको उद्गम विन्दु पनि चिवाभञ्ज्याङ हो । पाँचथरको याङवरक गाउँपालिका–१ मा पर्ने चिवाभञ्ज्याङ नाका खोल्न याङवरक गाउँपालिकासहित यस क्षेत्रका नागरिकले माग गरिरहेका बेला सिक्किम राज्य सरकारले पनि नाका खोल्न पहल गरेको छ । चिवाभञ्ज्याङसम्म नेपालका तर्फबाट उक्त राजमार्ग कालोपत्र दुई वर्षअघि गर्न थालेपनि निर्माण व्यवसायीको लापर्बाहीले पूरा हुन सकेको छैन ।

वन अतिथिगृहको उद्घाटनका लागि चिवाभञ्ज्याङ पुगेका मुख्यमन्त्री तामाङले सिक्किमबाट चिवाभञ्ज्याङसम्म विस्तार भएको सडकलाई बहुउद्देश्यीय कोरिडोर बनाउने योजना रहेको जानकारी दिए । चिवाभञ्ज्याङ अन्तर्राष्ट्रिय नाका बनेपछि उक्त सडकलाई दुई लेनको बनाउने उल्लेख गर्दै मुख्यमन्त्री तामाङले आफूहरुसँग सुनौलो मौका रहेको बताए ।

‘यो नाका खुले भारतसँगै नेपालको ४५ लाख जनसङ्ख्यालाई लाभ पुग्ने छ’, उनले भने–’यस विषयमा सङ्घीय सरकारमार्फत नेपाल सरकारसँग संवाद गर्छौँ ।’ नेपाल र सिक्किमका बासिन्दाको आउजाउ रहे पनि यो नाकालाई वैधानिकरुपमा खोल्नु आवश्यक रहेको मुख्यमन्त्री तामाङको भनाइ थियो । चिवाभञ्ज्याङलाई सिक्किम र नेपालबीचको द्विपक्षीय सम्पर्कविन्दु बनाउनुपर्नेमा उनले जोड दिए । रासस

Facebook Comments

Read Previous

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

Read Next

देशभरका ५६ लाख शेयर लगानीकर्ताको सुरक्षा गर्न कुनै कसर बाँकी रहदैनः अर्थमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar