Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ट्युबेलमार्फत बाह्रै महिना सिँचाइले हराभरा खेतबारी


भरतपुर । चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।

सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताए । उनका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ । विशेष गरेर कुलो, नहर नभएको र भएर पनि नियमित पानी नआउने ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान गरिएको उनले जानकारी दिए । पश्चिम चितवनका कतिपय ठाउँमा अहिले बाह्रै महिना सिँचाइमार्फत खेती गरिएको स्याङ्बोले बताए ।

आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ । डिप ट्युबेलका लागि पाँच प्रतिशत जनसहभागिता आवश्यक पर्छ । त्यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन् । ‘चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ’, स्याङ्बोल भने, ‘किसान सानो समूह बनाएर आउने गर्नुभएको छ ।’

यस्तै डिप ट्युबेलका करिब ४० बिघा जग्गा क्षेत्रफल भएमात्र उपलब्ध गराउन सकिने उनले बताए । ‘ट्युबेलमार्फत सिँचाइ गर्न किसानले रुचाएका छन्, कार्यालयले माग धान्न सक्ने अवस्था छैन’, उनले भने धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको छ । चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन । नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताए ।

बाह्रै महिना चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक छन् । भरतपुर महानगरपालिका २२ गर्भेटाँडीकी इन्दिरा बोटे सिँचाइमार्फत बाह्रै महिना खेती गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । ‘बोरिङ नहुँदा त खेती नै हुँदैन्थ्यो । जग्गा बाँझो राख्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘आकाशबाट पानी नपरे बाँझै हुन्थ्यो । डिपबोरिङ जोेडेपछि निकै सहज भएको छ ।’ एकपटक खेत रोपेपछि आफ्नो गाउँ मरुभूमिजस्तो हुने गरेको उनले अनुभव सुनाए ।

पाँच कठ्ठा जमिनमा मकै लगाउनुभएकी सोही ठाउँकी कमला ढकाल विगतमा बाँझै हुने जमिनमा मकै फलेको देख्दा आफैँ दङ्ग छिन् । ‘अहिले तोरी पनि राम्रो भयो’, ढकालले भनिन, ‘मकै यति राम्रा भएका छन् ।’ बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उनले बताइन ।

भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महतोले आफ्नो वडाका सुक्खा ठाउँ अहिले हराभरा भएको बताए । ‘यहाँ किसानले खेती लगाएपछि मात्र पानी आउथ्यो । यहाँका किसानले जेनतेन धानखेती गर्थे । अहिले मकै र तरकारी हराभरा छ । कृषिको आधार प्रविधि भन्ने कुरा भूमिगत जल सिँचाइले पुष्टि गरेको छ, उनले भने ।

भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको बताएको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताइन । ‘भूमिगत सिँचाइ, महानगर, कृषि ज्ञान केन्द्र चितवनबाट चितवनका सिँचाइका कार्यक्रम अगाडि बढेका छन्’, उनले भनिन, ‘भरतपुरमा सिँचाइमा कृषिक्रान्ति नै भएको छ ।’ अबको चार वर्षभित्र महानगरपालिकाभित्रका सबै जमिनमा सिँचाइ पुग्ने उनले बताइन । भरतपुरमा नौ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकामा हालसम्म २ हजार एक सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनकाे भनाइ छ । रासस


Read Previous

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

Read Next

तल्लो अरुणबाट २१ प्रतिशत निःशुल्क ऊर्जा र ०.९ प्रतिशत थप नगद रोयल्टी पाउने गरी पीडीए सम्झाैताकाे तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *