Nepal Purbadhar

माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा


काठमाडौं । रसुवाको मैलुङ खोलामा निर्माण हुने १७ मेगावाटको माथिल्लो मैलुङ खोला ‘बी’ जलविदुत आयोजनाको उत्पादन अनुमति जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सानिमा समूहले लगानी गर्न सम्भाव्यता अध्ययन पूरा गरेको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

विद्युत विकास विभागले उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना प्रकाशित गरी आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रकारको प्रतिकुल असर पर्ने भएमा सम्बन्धित सरोकारवालालाई लिखित राय सुझाव पेश गर्न आग्रह गरेको छ । विभागले सरोकारवालाको राय तथा सुझावको आधारमा आयोजनाको प्रवद्र्धक माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीलाई उत्पादन अनुमतिपत्र दिनेछ ।

यो आयोजना रसुवाको उत्तरगया गाउँपालिका हुँदै बग्ने मैलुङ खोलामा निर्माण हुनेछ । कम्पनीले यही खोलामा १४.३ मेगावाटको माथिल्लो मैलुङ आयोजना निर्माण गरिरहेको छ । निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको छ ।

माथिल्लो मैलुङ ‘बी आयोजनाको सम्भाव्यता अध्ययन २०२१ मा नै सम्पन्न भइसकेको हो । आयोजनाको छ । आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि तयार भइसकेको छ ।

प्रवद्र्धक कम्पनीले आयोजनाको उत्पादन अनुमति प्राप्त गरेपछि वित्तीय स्रोत व्यवस्थापन गरी संरचना निर्माणको काम अगाडि बढाउनेछ । आयोजनाका मुख्य सुरुङ ३४६२.५० मिटर लामो हुनेछ । २२४ मिटर ठाडो र ५१ मिटर तेर्सो पेनस्टक पाइप रहनेछ भने विद्युतगृह भूमिगत रहने कम्पनीले जनाएको छ ।

यो आयोजना २०८३ चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नदीको बहावमा आधारित यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १०१.२ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहदेखि १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गरी ११ किलोमिटर दुरीको त्रिशूली थ्री बी हब सबस्टेसनमा लगेर जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ ।


Read Previous

सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमका ग्राहकलाई डाटा र भ्वाइस प्याकमा अफरै अफर

Read Next

विद्युत प्राधिकरणमा चुनावी सरगर्मी, कर्मचारी ट्रेड युनियनहरू प्रचार प्रसारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar