Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

‘याे ‘पावर समिट’ले विद्युत् खपतलाई जोड दिनेछ’


लामो समयदेखि जलविद्युत आयोजना प्रवद्धनमा सक्रिय शैलेन्द्र गुरागाँई यस क्षेत्रको नेतृत्वकर्तासमेत हुन् । जलविद्युत् क्षेत्रको विकासले नै देशको विकास गर्ने धारणा राख्ने उनी निजी क्षेत्रले भोग्नु परेका समस्या र अफठ्याराबारे सरकारी पक्षसँग स्पष्ट र कडा रुपमा प्रस्तुत हुने उद्यमीमा पर्छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल, इप्पानका पूर्व अध्यक्ष समेत रहेका गुरागाँईसँग पावर समिटको अवसरमा उनीसँग नेपाल पूर्वाधार डटकमले गरेको संक्षिप्त कुराकानी :

अहिले निजी क्षेत्रले भोग्दै आइरहेको मुख्य समस्या के हो ? त्यो चुनौतीलाई कसरी समाधान गर्नुपर्ला ?

निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकहरुलाई आगामी दिनमा अवसरै अवसर मात्र रहेका छन् । चुनौतीहरु भनेका सामान्य कुराहरु मात्रै हुन् । सवैभन्दा ठूलो अवसर भनेको भारतले पनि नेपालको विद्युत खरिद गर्ने कुरा गरिसक्यो । बंगलादेशले पनि नेपालले उत्पादन गरेको बिजुली खरिद गर्ने प्रतिवद्धता जनाइसकेको छ । अहिले अन्तरदेशीय प्रसारणलाइन पनि निर्माणाधीन र निर्माणको क्रममा रहेका छन् । बिमिस्टेक अन्तर्गत हाम्रो ग्रीडलाई एसियाकरण गर्ने कुरा भइरहेको छ । बिबिआइएन (भुटान, भारत, बंगलादेश र नेपाल) ले पनि काम गरिरहेको छ । त्यसैले पनि हामीले के बुझ्नुपर्छ भने अहिले बिजुली उत्पादनमा जोड दिनुको विकल्प छैन । हामीले गर्ने भनेको नै जतिसक्दो चाँडो वा छिटो, द्रुत गतिमा बिजुली उत्पादन गरेर यो अवसरलाई हाम्रो समृद्धिमा जोड्नु अहिलेको आवश्यकता हो ।

यो तपाईले सकारात्मक पक्षबाट भन्नुभयो ? अहिले पनि १२ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) हुन बाँकी छ । अझै पनि विद्युत व्यापारमा सहज छैन । विगतमा बिजुली खेर गइरहेको अनुभव छ, सैद्धान्तिक रुपमा राम्रो भएपनि व्यवहारिक रुपमा अझै कठिनाई कायमै छैनन् र ?

कठिनाई होइन, हाम्रा जिम्मेवारी बढेका हुन् । त्यसलाई कठिनाई भन्न मिल्दैन । किन भन्दाखेरी जिम्मेवारी बढ्ने क्रममा प्रसारणलाइन बनाउनुपर्नेछ । हाम्रा जलविद्युत् आयोजनाहरु बनाउनु पर्नेछ । बनाएका आयोजनाहरुलाई ‘इभ्याक्युएट’ गरेर बोर्डरसम्म पु¥याउनुपर्नेछ । सीमापारी पनि सहमति गर्नुपर्ने अवस्था छ । यी यावत कुरा गर्नुपर्ने मुख्य काम भए । नीतिगत रुपमा धेरै कुरा खुलिसकेका छन् । केही खुल्ने क्रममा पनि रहेका छन् ।

त्यसैले व्यवहारिक रुपमा गर्नुपर्ने कुरालाई अघि बढाउँदै लैजानुपर्नेछ । अहिलेको चुनौती भन्दा पनि हामीले काम गर्नुपर्ने आवश्यकताका कुराहरु धेरै रहेका छन् । नेपालको लागि ग्रीड बनाउने नै अहिलेको सवैभन्दा ठूलो आवश्यकता हो जस्तो लाग्छ । यो ग्रीडलाई नेपालको सीमाक्षेत्रसम्म भन्नौं या, पावर सेन्टरसम्म पु¥याउन सकियो भने हाम्रा अन्य चुनौतीहरु भनेका तपसिलका चुनौतीहरु हुन ।

विद्युत् व्यापारको लागि नेपालले जुन रुपमा कुटनीतिक पहल तथा वार्ता गर्नुपर्ने थियो सो गर्न नसकेको विषयमा के भन्नुहुन्छ ?

हामी विद्युत् व्यापारको लागि भारतसँग जुन ढंगले कुटनीतिक रुपमा पहल तथा वार्ता गर्नुपर्ने थियो । त्यसमा हामीबाट पक्कै पनि केही कमी कमजोरी भएकै छन् । अहिलेसम्म भारतसँग भएका अधिकांश वार्ता तथा सहमति सरकार सरकारबीच (जीटुजी) मोडलमा मात्रै भएका छन् । हामीले बिजनेस बिजनेसबीच (बीटुबी) सम्झौता गर्न पाउनुपर्ने भन्दै सरकारसँग माग राख्दै आइरहेका छौं । भारत र बंगलादेशमा भने बीटुबी गर्ने गरी खुल्ला भइसकेको छ ।

तर, नेपाल सरकारले अहिलेसम्म निजी क्षेत्रलाई बीटुबी गर्ने गरी खुल्ला गरिसकेको छैन । नेपाल सरकारले बीटुबी खुला गरिदिने हो भने हामा जलविद्युत् गृहबाट उत्पादन भएको बिजुली सिधै उद्योगमा लगेर बेचिदिने थियौं । अथवा पावरसेण्टरमा लगेर हाम्रो उत्पादन भएको बिजुली कारोबार गर्न सक्ने थियौं । त्यसैले यो विषयमा नेपाल सरकारले कुरा बुझिदिएको छैन । यस अघिका मन्त्रीले पनि तत्कालै खुल्ने भनेता पनि अहिलेसम्म खुल्न सकेको छैन । हामी आशा गरौं यो छिटै खुल्नेछ । हामीले पनि बीटुबी मोडलमा छिट्टै व्यापार गर्न पाउनेमा आशावादी रहेका छौं ।

विद्युत विद्येयक २०६५ साल यता संसदमा जाने, फेरि फर्किने क्रम जारी छ । यसले त विद्युत् व्यापार खोल्ने धेरै बाटा रोकेको देखिन्छ नि । सरकारी निकायले विद्येयक पास गर्न निकै ढिलासुस्ती गरेजस्तौ लाग्दैन ?

खाने मुखलाई जुगाँले छेक्दैन भने जस्तै । सरकारले चाहने हो भने विधेयक एकै दिनमा पनि पास भएका उदाहरणहरु छन् । विधेयकहरु, कार्यविधिहरु, नियम कानुनहरु २० औं, ३० औं वर्ष अल्झिएर बस्नु भनेको नेतृत्व तहमा बस्नेले नचाहेर मात्रै हो । त्यसैले पनि अब आशा गरौ । सरकारको राजश्वको प्रमुख स्रोत ऊर्जा हुनेमा अहिलेको नेतृत्वले बुझेको छ । नेपालले जनशक्ति निर्यात गर्ने होइन हामीले बिजुली निर्यात गरेर मुलुकले पैसा कमाउनुपर्छ । मान्छेलाई स्वदेशमा नै रोजगार दिनुपर्ने हुन्छ ।

राजनीतिज्ञ तथा अन्य कोही मान्छेको पनि जलविद्युत्मा नकारात्मक धारणा छैन, तर, विद्युत् विधेयक पास गर्नमा खासै उदार देखिदैनन् । किन होला ?

यो सबै कुरा राजनीतिक अस्थिरताको उपज हो । तर, राजनीतिक अस्थिरताकै उपज भएता पनि हामीलाई अस्थिरताको उपजलाई हेरेर जलविद्युत् आयोजना उत्पादन रोक्ने छुट छैन । अहिले हाम्रो देशमा कर्मचारीलाई तलव खुवाउन सक्ने अवस्था छैन । हामीहरुलाई वैकल्पिक स्रोतको रुपमा राजश्व कसरी संकलन वा जुटाउने भन्ने कुरामा विद्युत् एकमात्रै विकल्प हो । यो कुराको ज्ञान तथा बोध भइसकेको छ । भर्खरै १५ सय मेगावाटको पीपीए पनि खुलिसकेको छ । त्यसकारण म के भन्छु भने हामी निराशावादी भइरहनुु आवश्यकता छैन ।

यस्तो अवस्थाकै बीचमा इप्पानले पावर समिट गर्दैछ, यसले विभिन्न नखुलेका पाटोहरु खुलाउनको लागि कस्तो पहलकदमी गर्छ जस्तो लाग्छ ?

सुरुका वर्षमा हामीले पावर समिट जलविद्युत आयोजनाको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर गरेका थियौं । अहिले जलविद्युत् क्षेत्रमा जनचेतना फैलिएर नै निजी क्षेत्र जलविद्युत् आयोजना निर्माणमा आए । अब आयोजना निर्माण भएर बिजुली खपतमा पनि गइसकेका छौं । त्यसैले पनि सकेसम्म स्वदेशभित्रै बिजुली खपत गरेर स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकेको खण्डमा त सवैभन्दा राम्रो हुने थियो ।

धेरै बिजुली उत्पादन गरेर विदेशमा बेचेर विदेशी मुद्रा पनि आर्जन गर्ने भन्ने चरणमा आइपुगेका छौं । यो यसअघि भएका पावर समिट र वैशाख ५ र ६ गते हुन लागिरहेको पावर समिटमा रहेको भिन्नता हो । त्यसैले हामी आशा गरौं अब बिजुली खपतका विषयमा पक्कै पनि धेरै कुरा हुनेछन् । स्वदेशभित्र उद्योग खोल्ने विषयमा धेरै छलफल हुनेछ । रोजगारी दिने विषयमा छलफल हुनेछ । हामीसँग खपत भएर बढी भएको सरप्लस बिजुली विदेशको कुन बजारमा बिक्री गर्न सकिन्छ भन्ने कुरामा छलफल हुनेछ । अहिलेको पावरसमिट भने विद्युत् खपतलाई जोडदिने गरी हुनेछ ।

निजी क्षेत्रले उत्पादनमा जसरी छर्लाङ मारेको छ, त्यो अनुसारको खपत वृद्धि नहुनाको कारणले नै पीपीए खुला नभएको बुझिन्छ । यो समिटले खपत वृद्धिका लागि कस्तो खालको ठोस कदम अघि बढाउँला जस्तो लाग्छ ?

मुख्यगरी वर्षायाममा सरप्लस भएको बिजुली भारत तथा बंगलादेशमा निर्यात गर्ने नै हो । नेपालमा सरप्लस बिजुली भएको बेला खपत गर्न सक्ने उद्योगधन्दा स्थापना गर्न विदेशी उद्योगी व्यवसायीलाई पनि आकर्षित गर्नुपर्ने बेला भइसकेको छ । यी दुवै कुरामा पावरसमिटले जोडदार रुपमा विषय उठाउने अपेक्षा गरेका छौं ।


Read Previous

भोलीदेखि २ दिने ऊर्जा सम्मेलन काठमाडौंमा शुरु हुँदै, तयारी पूरा भएको आयोजकको भनाइ

Read Next

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा अर्थमन्त्रीकाे जोड

Leave a Reply

Your email address will not be published.