Nepal Purbadhar

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

कालीगण्डकी करिडोर सडककाे स्तराेन्नति कार्य सुस्त हुँदा पर्यटकलाई सास्ती


गलेश्वर । नेपाल आउने विदेशी पर्यटक, धार्मिक पर्यटक र नेपाल घुम्न चाहने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य हो मुस्ताङ । हवाई मार्गभन्दा स्थलमार्गबाट धेरै पर्यटक मुस्ताङ जाने गर्दछन् । तर, मुस्ताङ जाने र फर्कने क्रममा पर्यटक र तीर्थयात्रीले सास्ती खेप्न बाध्य छन् ।

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि मुस्ताङको लोमान्थाङसम्मको ८ ठाउँमा स्तरोन्नतिको काम भइरहेको कालीगण्डकी करिडोर आयोजना मालढुङ्गा-जोमसोम प्रमुख जगत प्रजापतिले बताए ।

उनका अनुसार सडक निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थ ढुङ्गा, गिटी, बालुवा, ग्राभेल आदि इत्यादिको अभावले सडकको काम तीव्र रूपमा हुन सकेको छैन ।

“सडक स्तरोन्नतिका लागि ठाउँठाउँमा राखिएका निर्माण सामग्री, भत्काइएको सडक मर्मतमा ढिलाइलगायतका कारण सडक साँघुरो र जोखिमयुक्त भएकाले ज्यानकै बाजी राखेर मुस्ताङ आवत-जावत गर्न बाध्य हुनुपर्ने अवस्था रहेछ”, रसियन पर्यटकलाई मुस्ताङ घुमाएर बेनी फर्किनुभएका पर्यटक पथ प्रदर्शक डग्नुम लामाले बताए ।

“मुस्ताङ घुम्दा रमाएका पर्यटक बाटोमा सास्ती भोग्दा भने निरास हुने गर्छन्, सरकारले भ्रमणका लागि मुस्ताङ त बोलाउँछ, तर बाटो किन बनाउँदैन भने पर्यटकले हामीसँग प्रश्न गर्छन्”, उनले भने ।

१४ जना साथीसँग मुस्ताङ घुमेर फर्कन लागेका नवलपुर गैँडाकोट नगरपालिका–१२ हर्कपुरका प्रकाश ज्ञवालीले त्यस्तो सुन्दर ठाउँ (मुस्ताङ) मा जान र फर्कने र दैनिक सयौं विदेशी पर्यटकको आवत-जावत हुने सडकको अवस्था अत्यन्तै दयनीय देखेकाे बताए । उनले सडक स्तरोन्नतिका लागि निर्माण कम्पनी र सरकार दुवै उदासिन बनेको उनले दुखेसाे गरे । उनले  यस्तो सडक देखाएर सरकारले विदेशी पर्यटकलाई मुस्ताङ घुम्ने निम्ता कसरी दिन सकेको होला ? भनी प्रश्न गरे ।

लामा र ज्ञवालीले भनेजस्तै मुस्ताङ जाने सडकको अवस्था अत्यन्त दयनीय नै रहेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । “सरकारले निर्माण कम्पनीलाई दोष दिन्छ, निर्माण कम्पनीले सरकारलाई” शेरचनले भन्नुभयो, “दुई वटा निकायका बीचमा समन्वय नहुँदा सास्ती चाहिँ पर्यटकले भोग्नुपरेको छ, यस्तै अवस्था अझै केही समय रहिरहने हो भने मुस्ताङ घुम्ने पर्यटकको चाहना हुँदाहुँदै पनि सडककै कारण मोहभङ्ग हुनसक्छ ।”

निर्माण कम्पनीका ठेकेदारका अनुसार सडक निर्माणका लागि आवश्यक कच्चापदार्थ कालीगण्डकी नदीबाट निकाल्न नपाउँदा काममा असर परेको हो । सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न भनेको छ ।

सरकारले जारी गरेको आइइइ रिपोर्टमा उल्लेख भएका आधारमा राष्ट्रिय गौरवको आयोजना भएकाले कालीगण्डकी नदीबाट नै आवश्यक कच्चापदार्थ झिक्न पाउने र सोही मूल्याङ्कनका आधारमा ठेक्का सम्झौता भएको निर्माण कम्पनीले बताउँदै आएका छन् ।
कालीगण्डकी नदीको तीरैतीर जाने करिडोरमा कालीगण्डकीकै निर्माण सामग्री उपयोग गर्ने भनिएको भए पनि सर्वोच्च अदालतमा परेको रिटका कारण निर्माण सामग्री प्रयोग गर्न नपाएकाले काम प्रभावित भएको आयोजना प्रमुख प्रजापतिको भनाइ छ । सर्वोच्च अदालतले पनि समयमा नै फैसला दिन नसक्दा अन्योलको अवस्था उत्पन्न भएको छ ।

आयोजना प्रमुख प्रजापतिले मालढुङ्गादेखि कोरलासम्मको खण्डमा करिब ७२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।  निर्माण सामग्रीको अभावले काम सुस्तगतिमा मात्रै चलेका उनले बताए। ढुङ्गा नपाएका कारण निकै समस्या भइरहेको र उपलब्ध  सामग्रीबाट आरसिसीको काम चलिरहेको उनकाे भनाइ छ ।

बेनी–गलेश्वरको काम तीव्ररूपमा भइरहेको उनले बताए । त्यसैगरी, गलेश्वरदेखि तातोपानीसम्मको खण्डको करिब ६ किलाेमिटर  सडक कालोपत्र भइसकेको उनले बताए ।

उनका अनुसार केही भागमा कालोपत्रको तयारी भइरहेको छ भने काभ्रे भिरमा पनि ढलानको काम चलिरहेको छ । काभ्रेदेखि घाँसासम्मको सडक अत्यन्तै जोखिमयुक्त मानिन्छ । रुप्से झरनामा पनि बेलिब्रिज निर्माणको काम चलिरहेको उनले जानकारी दिए ।  मुस्ताङको जोमसोममा ढलानको काम भइरहेको पनि उनले बताए ।

मालढुङ्गादेखि बेनीसम्मको सडकको काम भने निर्माण कम्पनीले छोडेको छ । उक्त सडक खण्डको अहिलेसम्म करिब २५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

छिमेकी देश चीन र भारत दुवैलाई छुने र नेपालको आयात निर्यातमा महत्वपूर्ण काम गर्ने राष्ट्रिय गौरवको आयोजना हो ‘कालीगण्डकी कोरिडोर’। व्यापार र पर्यटनका लागि देशकै महत्वपूर्ण रहेको यही सडकको काम गरिरहेको एपेक्स खड्का कृष्ण जेभीले काम छाडेको अवस्था छ । उसले आफ्ना कामदार कोहीलाई अन्य ठाउँका काममा पठाएको छ त कोहीलाई घर फिर्ता गरिदिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको काम पूरा गर्नका लागि कालीगण्डकी नदी उत्खनन गर्नुबाहेकका विकल्पबाट काम सक्न मुस्किल रहेको निर्माण सम्बद्ध व्यक्ति र स्थानीयको भनाइ छ ।


Read Previous

गोल्यान समूहले लगानी गरेकाे बाँके-२ साैर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जाेडियाे

Read Next

सिक्टाको पूर्वी नहरमार्फत सिँचाइका लागि पानी छाेडियाे 

Leave a Reply

Your email address will not be published. Required fields are marked *