Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विकास गाउँ झर्दै, जनसंख्या सहर छिर्दै


विकास कसरी गाउँमा आउँदैछ र गाउँको जनसंख्या कसरी सहर पस्दैछ भन्ने एउटा उदाहरणबाट यो लेखलाई शुरु गरौं । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका (गापा) समुन्द्र सतहबाट ८७४ मिटर उचाइदेखि ६९५३ मिटरको उचाइको नुम्बुर हिमालसम्म फैलिएको भूभागमा आश्रित हिमाली र उच्च पहाडी बस्ती हो । पछिल्लो जनगणना बिसं २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार यस गाँउपालिकामा १६ हजार ७०९ जना मानिसहरू बसोबास गरीरहेका छन् । जसमा पुरुष ८ हजार २१९ र महिला ८ हजार ४९० जना रहेको देखिन्छ ।

यी मानिसहरू ४ हजार २१६ घर परिवारमा रहेका देखिन्छन । यस पालिकामा मिश्रित सामाजिक सास्कृतिक संरचना रहेको छ । क्षेत्री, सुनुवार, शेर्पा, तामाङ, नेवार, मगर, बाहुन, कामी, दमाइ, मिजार लगायतका जातजातीहरूको बसोबास रहेको छ । त्यस्तै धर्मको आधारमा हिन्दु, बौद्ध, किरातीहरूको बाहुल्यता देखिन्छ भने पछिल्लो समय इसाइहरूको संख्या (८ प्रतिशत) पुगेको छ भने सुनुवार र शेर्पा यस पालिकाका प्रमूख मातृभाषाका रुपमा रहेका छन ।

क्षेत्रफलको आधारमा उमाकुण्ड गापा रामेछाप जिल्लाको नै सबैभन्दा ठूलो पालिका हो । यसको क्षेत्रफल ४५२ बर्ग किमि छ भने जनसंख्याको आधारमा रामेछाप कै सबैभन्दा सानो पालिका हो । यस गाउँपालिकाको धेरैजसो भूभाग भित्री हिमाल, उच्च पहाड, समशितोष्ण जंगल तथा लेकाली टुण्ड्रा बनस्पतिहरूले ढाकिएको छ । ४ हजार ५०० मिटरमाथि अर्थात तल्लो हिमरेखाभन्दा माथिको भूभाग पनि प्रसस्तै छ ।

यहाँको अधिकांश बस्ती १ हजार २०० मिटर उचाइदेखि २ हजार १०० मिटरसम्म फैलिएको छ भने वडा नं ४ प्रितीको लाप्चाने तथा वडा नं २ बाम्तीको देउराली जस्ता २ हजार ८०० मिटरसम्म पनि साना तिना बस्तीहरू रहेका छन । यहाँको ठूलो भूभाग उच्च पहाड र भित्री हिमाल रहेको हुँदा भौगोलिक प्रतिकुलताका कारण बसोबास नै छैन । यस गापाको पछिल्लो जनगणना अनुसार ३७ जना मात्र प्रति वर्ग किमि जनघनत्व रहेको छ । जुन राष्ट्रिय जनघनत्व १९८ जना प्रति वर्ग किमि भन्दा धेरै कम हो । यहाँ भएको बसोबास पनि पालिकाको दक्षिण पूर्वको ज्यादै सिमित क्षेत्रमा मात्र केन्द्रित रहेको छ ।

स्थानीय सरकारको अस्तित्वपछि उमाकुण्ड गापाले अहिलेसम्म ३ अरब रुपैयाँभन्दा बढी स्राेत साधन तथा बजेट परिचालन गरी सकेको छ । यो रकम गैर सरकारी संस्था, निजी क्षेत्र, प्रदेश तथा केन्द्रीय सरकारले गरेको लगानीभन्दा बाहेक हो । उमाकुण्ड सरकारले परिचालन गरेको रकमलाई प्रत्येक जनसख्यामा भाग लगाउने हो भने प्रत्येक बासिन्दाको भागमा करिब २ लाख अर्थात एउटा परिवारको भागमा ८/१० लाख रुपैयाँ नै पर्छ ।

विस २०५८ को राष्ट्रिय जनगणनामा रामेछाप जिल्लाको जनसंख्या २ लाख १२ हजार ४०८ जनाको उच्चतम विन्दुमा पुगेकोमा अघिल्लो जनगणना (२०६८) मा करिब १० हजार संख्यामा हृास आइ घटेर २ लाख २ हजार ६४६ जनामा आइपुगेको देखिन्छ । अझ २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजामा यो संख्या ह्वात्तै घटेर १ लाख ७० हजार ६२० मा झरेका देखिन्छ । यो हृास नेपालका ७७ जिल्लामध्ये सबैभन्दा उच्च नकरात्मक बृद्धि हो ।

विगत १० वर्षमा १.६५ प्रतिशत प्रति वर्षका दरले यस जिल्लाको जनसंख्या ओरालो लागीरहेको देखिन्छ । त्यसैगरी उमाकुण्ड गाउँपालिकाको जनसंख्या पनि समानान्तर ओरालो लागिरहेको छ । नेपालको सम्पुर्ण जनसंख्या ०.९३ प्रतिशतले धनात्मक बृद्धि हुँदा उमाकुण्डको जनसंख्या विगत १० वर्षमा १७ हजार ७०१ (विसं. २०६८ को जनगणना अनुसार) जनाबाट ८९२ को संख्यामा कमी आइ २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार १६ हजार ८०९ जना मात्र देखिन्छ ।

विसं. २०६८ को जनगणनामा यो संख्या तत्कालिन बाम्ती गाविसमा ३ हजार १४४ जना, भुजीमा २ हजार ४०२ जना, गुम्देलमा २ हजार ४६६ जना, गुप्तेश्वरमा १ हजार ७६९ जना, कुवुकास्थलीमा २ हजार ७२७ जना र दुबै प्रितीमा ५ हजार ०९३ जना रहेकोमा प्रत्येक वडामा यो जनसंख्यामा पनि हृास आएको छ । राष्ट्रिय रुपमा उच्च जनसंख्या वृद्धिदर अर्थात २.१ प्रतिशत हँुदा पनि रामेछाप जिल्लामा बिस २०५८ सालकै गणनाबाट जनसंख्या घट्न थालेको पाइन्छ भने उमाकुण्डका तत्कालिन बाम्ती लगायतका केही गाविसमा विस २०४८ सालकै जनगणनाबाट जनसंख्या घट्न थालेको पाइन्छ ।

जनसंख्याको आकार परिवर्तनमा जन्म, मृत्यु र बसाईसराई गरी तीनवटा कारक तत्वहरू रहेका हुन्छन् । रामेछाप जिल्ला र उमाकुण्ड गापाको जन्मदर र मृत्युदरलाई नेपालको राष्ट्रिय औसतसँग तुलना गर्दा खासै फरक रहेको पाइदैन् । तर यस जिल्ला र यस पालिकाको तीब्र गतिमा जनसंख्या घट्नु यहाँबाट बसाइ सरेर जाने मानिसको संख्या नै धेरै भएकाले हो ।

यद्यपि यस क्षेत्रमा जनसंख्याको आकार परिवर्तनमा जन्म, मृत्यु र बसाईसराईको अलग अलग प्रभावको सम्बन्धमा अहिलेसम्म रामेछाप जिल्लामा नै कुनै अध्ययन भएको छैन भने उमाकुण्ड गापाको सन्दर्भमा मात्र त यस्तो अध्ययन हुन सक्ने देखिदैन् । स्वभाविक रुपमा सामाजिक बनोट, भौगोलिक अवस्थिति, सामाजिक स्वरुप, संभावना, जीवनशैली र अपेक्षा एकै किसिमको भएको हँुदा आफ्नै जिल्लाका छिमेकी गोकुलगङ्गा र लिखुतामाकोसी पालिका, सिमाना जोडिएको सोलुखुम्बुको लिखु पिके र ओखलढुङ्गाको खिजिदेम्बा गापाको जनसंख्याको परिवर्तनको तस्बिर पनि खासै फरक नरहेको अवस्था देखिन्छ ।

सुदूर उत्तरी रामेछापमा अवस्थित उमाकुण्ड गापा जनसंख्या आकारमा सानो देखिए तापनि ३ जिल्ला (दोलखा, सोलुखुम्बु र ओखलढुङ्गा) र पालिकाहरु (सोलुखुम्बुका दुधकुण्ड नपा समेत लिखुपिके र खुम्बु पासाङल्हमु गापा, दोलखा जिल्लाको जिरी नपा समेत गौरीशंकर गापा, ओखलढुङगाको खिजिदेम्बा गापा र रामेछाप जिल्लाकै गोकुलगंगा र लिखुतामाकोसी) जोडिएको छ । दुईवटा प्रदेश (बाग्मती र कोशी प्रदेश) सँग सिमाना जोडिएको विविधतायुक्त जनसंख्या विशेषता साथ तिब्र दरमा जनसंख्या हृास भैरहेको स्थानीय तहको रुपमा पहिचान बनाएको छ ।

पछिल्ला दशकका प्रत्येक राष्ट्रिय जनगणनामा रामेछाप जिल्ला र उमाकुण्ड गापाका हरेक जसो वडाहरूमा कुल जनसंख्या ओरालो लागि रहेता पनि उमाकुण्ड गापाको कुल मतदाता संख्या भने बढीरहेको देखिन्छ । पछिल्लो जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार जम्मा १६ हजार ७०९ जना मानिसहरू उमाकुण्डमा बसोबास गरीरहेको देखिएकोमा विडम्वनाको रुपमा विसं २०७९ मंसिर ४ गतेको आम निर्वाचनको लागि उपलब्ध गराइएको मतदाता नामावलीमा सत्रहजार भन्दा बढी मतदाताको नाम यसै गापामा रहेको देखिन्छ । त्यसै गरी उमाकुण्ड गापाले विस २०७६ सालमा घरधुरी सर्वेक्षण गरी तयार पारेको उमाकुण्ड प्रोफाइलमा २५ हजार ८५२ जना मानिसहरू यस गापामा बसोबास गरिरहेको देखाइएको छ ।

बजार केन्द्रहरू ग्राहकको अभावमा खुम्चिरहेका छन् । यहाँका चर्चित साप्ताहिक हाटहरू नाम मात्रका पातला बनेका छन् । भएका बस्तीहरूमा पनि सामाजिक रितिरिवाजका जन्ती, मलामी तथा सामुदायिक मदतका काममा नै असर पर्ने गरी युवा जनशक्तिको अभाव देखिएको छ ।

यस प्रोफाइलमा हालको दुइवटा प्रितीमा मात्र राष्ट्रिय जनगणनाको भन्दा दुई गुणा बढी मानिसहरू बसोबास गरिरहेको देखाइएको छ । उमाकुण्ड गापाको आन्तिरिक प्रतिवेदनहरुमा वार्षिक विविध सामाजिक सेवा सुविधा लिने जनसंख्या राष्ट्रिय जनगणनाले देखाएको यहाँको जनसंख्याभन्दा झण्डै दोब्वर संख्या देखिन्छ । उमाकुण्डको समग्र विकास निर्माणबाट लाभान्वित हुने मानिसहरूको संख्या त तीन गुणा बढी देखाएर बढाइ चढाइ गरिएको छ ।

मुलुकको नयाँ संविधानपछि पुर्नसंरचना भइ संघीय शासन प्रणाली बमोजिम स्थानीय सरकारको व्यवस्था गरी सोही अनुसार दोस्रो कार्यकालको लागि जनप्रतिनिधिहरू कार्यरत छन् । स्थानीय सरकारको अस्तित्वपछि उमाकुण्ड गापाले अहिलेसम्म ३ अरब रुपैयाँभन्दा बढी स्र्रोत साधन तथा बजेट परिचालन गरी सकेको छ । यो रकम गैर सरकारी संस्था, निजी क्षेत्र, प्रदेश तथा केन्द्रीय सरकारले गरेको लगानीभन्दा बाहेक हो । उमाकुण्ड सरकारले परिचालन गरेको रकमलाई प्रत्येक जनसख्यामा भाग लगाउने हो भने प्रत्येक बासिन्दाको भागमा करिब २ लाख अर्थात एउटा परिवारको भागमा ८÷१० लाख रुपैयाँ नै पर्छ ।

गैसस, प्रदेश तथा केन्द्रीय सरकार, संघ संस्थाले गरेको लगानी, ठुला जलविद्युत आयोजनाले पुर्वाधार क्षेत्रमा गरेको सामाजिक उत्तरदायित्व अन्र्तगतको लगानी अझ धेरै भएको देखिएको छ । उमाकुण्ड पालिकाको विकास निमार्ण, भौतिक विकास, जनशक्ति तथा मानव संसाधन विकास, शिक्षा स्वास्थ्य, सडक, खानेपानी , विद्युत, संञ्चार, आय आर्जन, रोजगारी, गरिवी निवारण आदि क्षेत्रको प्रगति भने दयालाग्दो र नाजुक अवस्थामा छ ।

यहाँका बासिन्दाहरूमा आफू र आफ्ना सन्ततिको भविष्यप्रति गापा सरकारसँग गासिएका आसा र अपेक्षाहरू क्रमश कमजोर बन्दै घटीरहेको पाइन्छ । राजनैतिक दल, जनप्रतिनिधी, सामाजिक अभियान्ताहरूले यही भुभागमा नयाँ आसा, भरोसा र विश्वास सृजना गर्न सकिरहेको देखिदैन । गाँउ बस्ती खाली हुदै मानिसहरू पलायन हुने क्रम जारी छ । मानिसहरूको यस्तो पलायन दर घट्ने छाँटकाँट छैन अझ बढीरहेको छ ।

टोल बस्तीका धेरै घरहरू ताल्चा लगाएर अलपत्र छाडिएका छन । कयौ घरहरू मानव बस्तीको अवशेषको रुपमा भग्नावशेषमा परिवर्तन भइसकेको देखिन्छ । ढकमक्क ३ बालीसम्म फल्ने उर्बर बारी, गरा, खेतहरू समेत झाडी, बुट्यान र रुखहरूले छपक्कै ढाकिसकेका छन । केही दशक अघिको तुलनामा स्कुलहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या आधाले घटीसकेको अवस्था छ ।

यहाँका धेरै विद्यालयहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगिसकेका छन् । मानव चहलपहलको अभावमा गुलजार बस्तीहरू सुनसान र उजाड हुदै गइरहेका छन् । बजार केन्द्रहरू ग्राहकको अभावमा खुम्चिरहेका छन् । यहाँका चर्चित साप्ताहिक हाटहरू नाम मात्रका पातला बनेका छन् । भएका बस्तीहरूमा पनि सामाजिक रितिरिवाजका जन्ती, मलामी तथा सामुदायिक मदतका काममा नै असर पर्ने गरी युवा जनशक्तिको अभाव देखिएको छ ।
गाँउघरमा आजकाल बुढाबुढी तथा केटाकेटी जस्ता आश्रितहरूको मात्र बाहुल्यता देखिन्छ । बिस्तारै यहाँको स्वभाविक सामाजिक संरचना नै खलबलिदै गैइरहेको अवस्था छ ।

समाजशास्त्रीय दृष्टिकोणमा सभ्यताको विकास र समयअनुसार समाजको परिवर्तन हुन्छ । गाउँ बस्तीमा विकास र आधुनिकरण आउँछ । विकास निर्माण र सेवा–सुविधाका पूर्वाधारहरू विस्तार हुदै जान्छन् अनि खेतीबारी, पेशा–व्यवसाय, जनजीविकामा सुधार र नयाँ–नयाँ प्रविधी स्थापित हुदैजानु पर्नेमा उमाकुण्ड गापाको विकास शैली र सामाजिक रुपान्तरणमा भिन्न चित्र देखिदै गएको छ । स्थानीय सरकार मार्फत व्यापक रुपमा बस्ती–बस्तीमा विकास र घरघरैमा सेवा सुविधा विस्तार हुदै जानुपर्नेमा घरहरू नै खाली हुदै गइरहेका छन् ।

कयौं परिवारहरू पहिल्यै पलायन भैसकेका छन् । धेरै परिवारहरू केही सामान्य बन्दोबस्ती मिलायर बसाइ सर्ने योजनामा छन् भने कयौं घर–परिवार बेलैमा पलायन हुन नसकेकोमा पश्चतापमा छन् । टोलबस्तीका जनप्रतिनिधी र नजिकको जनउत्तरदायी स्थानीय सरकारको समय सुरुवात भएपछि पनि मानिसहरूले पुस्तौं देखिको थातथलो छाडेर जाने क्रम विगतको भन्दा अझ तिब्र बनेको छ ।

नेपालका ४६० वटा गाँउपालिकाहरू मध्ये उमाकुण्ड त एउटा प्रतिनिधि गापा मात्र हो । त्यस्तै अवस्था अधिकांश अन्य पालिकामा पनि होला । तथापि यहाँको पलायन दर उच्च हुनुमा यहाँका जनप्रतिनिधि, वुद्धिजीवी, शिक्षाविद, राजनितिज्ञ, समाजसेवी, सामाजिक अभियन्ता, शिक्षकमाझ गम्भिर सोचनीय विषय हुनु पर्ने होइन र ?

यो प्र्रश्न यहाँका सबै उमाकुण्डबासी शुभचिन्तक सरोकारवाला तथा नीति निर्माता अगाडि छ । तर यहाँका कोही पनि जिम्मेवार मानिस यो प्रश्नमा छलफल गर्न र उत्तर दिन तयार देखिदैनन् । तत्काल आवश्यक नीति, योजना र कार्यक्रमसहित अगाडि बढ्नका लागि यहाँको स्थानीय सरकारमा न कुनै चिन्ता न कुनै उदेश्य, ध्येय, दृष्टिकोण तथा आवश्यक योजना केही पनि देखिदैन । त्यसैले आगामी दिनमा यहाँको समस्या झनै विकराल बनेर जान सक्ने देखिन्छ ।


Read Previous

पूर्वाधार परियोजनामा लगानी गर्न स्थापित निफ्रा बैंकलाई पुँजी वृद्धिको सकस

Read Next

हुलाकी सडक निर्माणलाई गति दिन मेयरको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *