Nepal Purbadhar

शुक्रबार, जेष्ठ ११, २०८१
Friday, May 24, 2024

शुक्रबार, जेष्ठ ११, २०८१
Friday, May 24, 2024

पानीको भरपर्दो स्रोत खोज्दै टौदह


कीर्तिपुर ।  साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ ।

बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ ।

‘पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो’, टौदह संरक्षणमा लागि परेका रामप्रसाद आचार्य भन्छन, ‘बर्खामा वरपरका जमिनबाट रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ । त्यसकारण यसमा पानीको सतह बर्खामा बढ्ने र हिउँदमा घट्छ ।’

हाल पानी भरिएको र आसपासको डिल क्षेत्र झण्डै ९२ रोपनीको छ । तर कुनै बेला पानीले ढाकेका स्थानमात्रै ११२ रोपनी थियो । जसको प्रमाण अहिले पनि वरपरका खेतमा भेटिने तालको सीमाका पिलर अझै भेटिने गरेको उनको भनाइ छ ।

बर्खा र हिउँदको यही चक्रबीच बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई अहिले कीर्तिपुर नगरपालिकाको वडा–६ अन्तर्गतपर्ने भू–भागबाट बगेका पानीले भरिदिन्थ्यो । हिउँद र सुख्खायाममा सतह घटदै जान्थ्यो र अर्को वर्षामा फेरि उसै गरी सतह बढने क्रम हुन्थ्यो । करिब दुई दशकयता टौदहमा पानी प्रवाह गर्ने जमिनमाथि कङ्क्रिट रचना थपिँदैछन् । जसले स्वाभाविक रुपमा टौदहमा जमिन रिचार्ज भएर पुग्ने पानीलाई कम गराउँदैछन् ।

कीर्तिपुुर नगरपालिकाकै धनी वडा मानिने त्यस क्षेत्रमा प्राकृतिक मुहान मानवबस्तीमा खाने पानी पु¥याउनकै लागि ठिक्क बन्दैछन् । अनि नजिकैको खहरे खोला जस्ता स्रोतका पानीमा प्रदूषण बढदै जाँदा टौदहमा हुल्न नमिल्ने बन्दैछन् ।

‘खहरे खोलाबाट पानी ल्याउन पनि मुहान आसपासका उद्योगका दूषित पानी मिसिएका कारण जोखिम छ । विगतमा जस्तो वर्षामा परेको पानी सतहको जमिनबाट सोझै दहमा जाओस् भन्न पनि सकिन्न’, आचार्य भन्छन्, ‘घनाहुँदै गरेको बस्तीबीचबाट बग्ने वर्षे पानी प्रदूषित हुने सोझै दहमा पढाउँदा दह आश्रित् माछालगायतका जलचर र चराचुरुङ्गी लगायतका प्राणीलाई असर पुग्नसक्छ ।’ कुनै पनि कारणले दहको पर्यावरण खलबलीएमा टौदहको अस्तित्व नै खतरामा पर्ने उनको चिन्ता छ ।

टौदहमा पानीको कुनै स्थायी स्रोत विगतमा थियो कि ? वा अहिले पनि भूमिगत रुपमा त्यस्तो स्रोत छ कि भन्ने अनुमानका आधारमा अध्ययन नभएको होइन । तर कतैबाट त्यस्तो सङ्केत पाइएको छैन । त्यसो भए कहाँबाट पानी आएर टौदह बन्न पुग्यो होला ?

किंबदन्ती अनुसार भगवान कृष्णले दहका रुपमा काठमाडौँ उपत्यकाको पानी कटुवाल दह नजिकैको पर्वत काटेर बगाउन थालेपछि त्यहाँ रहेका नाग पनि पानीसँगै बगेर जान थाले । त्यसपछि कृष्णले ती नागहरुलाई आश्रय दिन टौदह सृष्टी गरेका हुन् ।

त्यसका लागि भीमसेनले एक कोदालो खनेर टौदह बनाएको र त्यसको माटो नजिकैको डाँडामापरिणत भएको कथन त्यहाँ छ । भूगोलका शिक्षकसमेत रहनुभएका आचार्य टौदह अहिले केही मिटर पूर्वबाट बग्ने बागमतीले बनाएको एउट अक्स बो लेक (गो खुर ताल) हुनसक्ने बताउनुहुन्छ ।

नदी बाङ्गो गरी बग्दै जाँदा कुनै स्थानमा गोलाकार बग्ने र पछि त्यो ठाउँ छोडेर सोझै बग्दा पहिले बगेको स्थानमा बाँकी रहेको पानीबाट बनेको ताललाई ‘अक्सबो लेक’ भनिन्छ । यस्तो ताल ‘रिचार्ज’ हुने एक मात्र आधार वर्षे पानी नै हो । त्यही कारण टौदहको क्षेत्रफल पनि सधैँभरी एक नाशको छैन । यसरी पानी घटबढ हुँदाको असर टौदहका माछालाई परिरहन्छ । पानी कम भएको बेला अक्सिजन नपुगेर कैयौँ माछा मरेका छन् । गत वर्षमात्रै टौदह संरक्षण समितिले तीन टन जति मरेका माछा टौदहबाट निकालेर पुरिएको थियो ।

माछा मार्न प्रतिबन्धित हुनु र बौद्धधर्माबलम्बीले माछाको भुरा अनगिन्ती सङ्ख्यामा ल्याएर छोडिरहँदा दहले नै थाप्न नसक्ने गरी माछा बढेका थिए । एउटै माछा नौ किलोसम्मको फेला परेका आचार्य बताउँछन । असिमित रुपमा भुरा छोडिने र टौदह घुम्न आउने आगन्तुकले माछाको आहाराको रुपमा भटमासको मस्यौरा खुवाउन थालेका कारण माछाको सङ्ख्या बढेको आधारमा समितिले अहिले भुरा छोड्न र मटमासको मस्यौरा बेच्न पनि बन्देज लगाएको छ ।

त्यति गर्दा मात्रै पनि दहको संरक्षण नहुने सरोकारवाला पर्यावरणविद् जैलव राईको भनाइ छ । टौदहलाई पुरानै तरिकाबाट रिचार्ज गर्ने अवस्था सिर्जना गर्न नसके पनि जैविकविविधता संरक्षण हुने गरी कदम चाल्नुपर्ने उनको सुझाव छ ।

कीर्तिपुर नगरपालिका-६ का अध्यक्ष पृथ्वीमानसिंह बस्नेत अघिल्ला वर्षमा जस्तो टौदहले ठूलो दुःख नदिएकाले यस वर्षको सुुख्खामा पानीको कमी नहुने बताउँछन । रासस


Read Previous

अतिक्रमित संरचनामा धनगढी उपमहानगरको डोजर

Read Next

अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छुः प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published.