
धनकुटा । चालू आर्थिक वर्षमा करिब साढे चार करोड रुपैयाँको लगानीमा जिल्लाका विभिन्न आठ सडकको स्तरोन्नति तथा सुधार गरिने भएको छ। सडक डिभिजन कार्यालय धनकुटाका अनुसार ४ करोड ३८ लाख १२ हजार रुपैयाँको लागतमा उक्त सडकको सुधार हुन लागेको हो।
सबै सडकको ठेक्का प्रक्रिया सम्पन्न भई आयोजनाको सम्झौता हुने चरणमा रहेको कार्यालयका इञ्जिनीयर सन्तोष शाहले जानकारी दिए। सञ्चालन हुन लागेका सडक आयोजनामा निर्माणाधीन मोरङको केराबारी हुँदै चौबिसे गाउँपालिकाबाट छथर जोरपाटी गाउँपालिका जोड्ने हुलाकी मार्गको एक करोडको लागतमा सुधार गरिनेछ।
त्यस्तै छथर जोरपाटी गाउँपालिकाको मध्यपहाडी लोकमार्गको सिंधुवा बजारबाट महालक्ष्मी नगरपालिका हुँदै लोकमार्गको भोजपुर जोड्ने नगरपालिकाको मुख्य सडक, पाख्रिबास नगरपालिकाबाट मुगा गाउँ हुँदै अरुण नदीबाट भोजपुर जिल्ला जोड्ने सडक, नगर र शहीद भूमि गाउँपालिकासम्म पहुँच राख्ने सडकमा ५०/५० लाख रुपैयाँ खर्च गरिनेछ।
धनकुटा नगरपालिकादेखि भोजपुर जोड्ने अखुवाटारसम्मको शहीद भूमि गाउँपालिकाको सुख्य सडक ,कोसी राजमार्गको धरान धनकुटा सडकखण्डमा रहेको साँगुरीगढी गाउँपालिकाको सिम्सुवाबाट चौबिसे गाउँपालिका जोड्नेमध्ये चौबिसे सडक मा ५० लाख रुपैयाँ खर्च गरिनेछ भने गाउँपालिकाको तीन रणनैतिक सडकमध्ये तमोर करिडोरबाट राजारानी बजार र बजारदेखि वसन्तटार जोड्ने दुई सडक स्तरोन्नतिका लागि क्रमशः ५० र ३८ लाख १२ हजार खर्च गरिनेछ।
 
								 नेपाल पूर्वाधार
                        नेपाल पूर्वाधार         
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    








